झापा : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा माधव नेपाल पक्षधर नेकपा एमालेको जिल्ला कमिटी घोषणा गरिएको छ ।

घोषित जिल्ला कमिटी ३५१ सदस्य रहेको छ । झापाको बिर्तामोडमा आज नेपाल समर्थित नेकपा एमालेले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलामा जिल्ला कमिटी घोषणा गरिएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानीले देश र पार्टी दुवै तिर नोक्सानी भइरहेको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले ओलीसँग आफूहरूको कुनै व्यक्तिगत रिसइवी नभएको प्रस्ट पारे । नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीकै गृह नगरबाट ओलीलाई सुध्रन आग्रह गरे ।

उनले प्रधानमन्त्री ओलीले झुटको खेती गरिरहेको आरोप समेत लगाए । प्रधानमन्त्री ओलीले झुटको खेती गर्न समूह बनाएको र त्यसलाई साइवर स्याल भन्ने गरिएको नेता नेपालको भनाइ थियो ।

आफ्नो मन्तव्यको अधिकांश समय ओलीको कटाक्षमा खर्चिएका नेता नेपालले ओलीको चरित्र भनेकै आफूलाई मन नपरेको मान्छेलाई पत्ता साफ बनाउने मात्रै रहेको दाबी गरे ।

कार्यक्रममा पार्टीका उपमहासचिव घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा बमोजिम नै अदालतको पछिल्लो फैसला आएको उल्लेख गरे ।

नेपाल पक्षधर नेकपा एमाले झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ३ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ ।

घोषित कमिटीको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा नीलमणि बराल उपसचिवमा मणि भण्डारी लगायत ३५१ सदस्यीय समिति रहेको र विभिन्न विधागत कमिटी समेत गठन गरिएको घोषणा गरिएको थियो ।