इटहरी : नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको नयाँ कार्यसमितिको पदस्थापन सम्पन्न भएको छ। चैत २५ गते सम्पन्न चुनावबाट निर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न भएको हो।

इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजीत समारोह बिच नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो। प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुनसरीका अग्रज पत्रकारहरूको उपस्थिति थियो ।

अमर खड्काको नेतृत्वमा रहेको कार्यसमितिलाई बिदाइ गर्दै शुक्रवारबाट नयाँ कार्यसमितिले कार्यभार सम्हालेको हो। नवनिर्वाचित अध्यक्ष जनकऋषी राई अध्यक्ष रहेको प्यानल नै निर्वाचित भएको हो। आगामी ३ वर्षको लागी राईको नेतृत्वको समितिले कार्यभार सम्हाल्ने भएको छ ।

निर्वाचित समितिमा अध्यक्ष राई सहित उपाध्यक्ष गणेश निरौला, महिला उपाध्यक्ष उषाकिरण भट्टराई, सचिव ध्रुव ढकाल, सह-सचिव विकल रेग्मी र तीर्थ कार्की, समावेशी सह-सचिव भोला श्रेष्ठ, कोषाध्यक्ष अजित झा सहित १३ जना सदस्य निर्वाचित भएका छन् ।

खुल्ला सह-सचिवमा ११५ बराबर मत आएपछि कार्यकाल बाडफाड गरिएको छ । रेग्मीको सुरुमा १ वर्ष र कार्कीको बाकी २ वर्ष कार्यकाल रहने गरी सहमति भएको हो । सहमति पछि निर्वाचन समितिले दुवै जनालाई प्रमाणपत्र प्रदान गरेको छ ।

पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष खड्काले आफ्नो कार्यकालमा भएका राम्रा कामको जिम्मा सम्पूर्ण टिमलाई दिने र नराम्रा कामको जिम्मेवारी आफै लिन तयार रहेको बताए। आफूहरूले सुरु गरेका राम्रा कामको अनुसरण गर्न अनुरोध गर्दै उनले थप रचनात्मक कामको लागी शुभकामना लिए ।

कार्यभार सम्हालेसँगै नवनिर्वाचित अध्यक्ष राईले पत्रकारिता पेसाको मर्यादा कायम राखी श्रमजीवीको पक्षमा लाग्ने बाचा गरे। अघिल्लो कार्यसमितिले सुरु गरेका कतिपय राम्रा कामको अनुसरण गरिने उनको भनाई छ ।

कार्यक्रममा पूर्व अध्यक्ष, निर्वाचन समिति, निवर्तमान कार्यसमितिलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो ।