विराटनगर : विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्डकप फुटबलको फाइनल खेल आज (शनिवार) हुँदैछ। शहिद रङ्गशालामा हुने फाइनलमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं र भारतको  पुलिस क्लब बिच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल राती साढे ६ बजेदेखि सुरु हुनेछ ।

पाहुना टोली पन्जाब पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ भने एपीएफ यो सिजनको तेस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ । एपीएफले विभागीय चिरप्रतिद्वन्दी नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । एपीएफले क्वाटर फाइलमा प्रहरीलाई २-० ले र सेमिफाइनलमा विराटनगरलाई ३-२ हराएर फाइनलमा स्थान पक्का गरेको हो।

यस्तै विराट गोल्डकपमा पहिलो पटक भाग लिएको पञ्जाबले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रलाई २-०, गोरखा ब्वाइज क्लब रुपन्देही ४-२ र आहा रारा गोल्डकपको च्याम्पियन तथा विराट गोल्डकपको पूर्व विजेता टिम सङ्कटा क्लबलाई १-० हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।

एपीएफ २०७० मा विराट गोल्डकपको फाइनलमा पुगेको थियो । त्यस बेला सङ्कटासँग १-० गोलले पराजित भयो । एपीएफले यो सिजनमा तीन वटा गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएको बताएको छ। 

यसअघि महिना दिन अगाडी सम्पन्न चौथो गोलबजार गोल्डकपको उपाधि जितेको छ। गोलबजार गोल्डकप मा फाइनलमा आयोजक टिमलाई ४-० गोलले हराउँदै एपीएफ च्याम्पियन बनेको थियो । यस्तै यही सिजनमा जनकपुर गोल्डकपको उपाधि पनि हात पारेको छ । फाइनलमा विभागीय टिम नेपाल आर्मीलाई २-१ गोलले हराउँदै एपीएफले जनकपुर गोल्डकपको उपाधि हात जितेको थियो ।

सहिद मैदानमा शुक्रवार भएको प्रि-म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।

एपीएफका प्रशिक्षक सुदिप श्रेष्ठले विराट गोल्डकपमा दोस्रो पटक फाइनल पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘यो सँगै दोस्रो पटक विराट गोल्डकपको फाइनलमा पुगेका छौँ । उपाधि उचाल्ने प्रयास रहने छ,’ प्रशिक्षक श्रेष्ठले भने,’ दुई लक्ष्य लिएका आएका थियौँ । एउटा उपाधि र अर्को फाइनल पुग्ने । एउटा पूरा भयो अर्को भोलि हुन्छ ।’ 

उनले फाइनलमा ४-१, ४-१ को रणनीतिमा मैदानमा उत्रिने बताए । एपीएफका कप्तान सुदीप सिख्राकारले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । ‘पन्जाब राम्रो टिम हो । पञ्जाबमा अग्ला कद भएका खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रदर्शन गर्नेछौ,’ कप्तान सिख्राकारले भने, ‘पञ्जावका अग्ला कद भएका खेलाडी भएकोले हामी ग्राउन्ड लेभलबाट खेल खेल्नेछौँ ।’

नेपालमा पहिलो गोल्डकप खेल्न आएको पन्जाब विराट गोल्डकपको फाइनलमा पुगेको हो । यस अघि पन्जाब भारतको लिग विजेता टिम पनि हो। पञ्जाबका प्रशिक्षक हरनेक सिंहले फाइनल भन्दा अगाडी जसरी हाम्रो खेलाडी खेल खेलेका थिए, त्यही अनुरूप फाइनल खेल्ने बताए।

नेपालकै प्रतिष्ठित गोल्डकपको उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए । ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो। त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने, ‘आहा रारा गोल्डकपको च्याम्पियन टिमलाई जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा हामी ढुक्क छौँ ।’

उनका अनुसार पञ्जाबले ४-४-२ को रणनीतिमा खेल्ने बताए । ‘सेमिफाइनलमा कप्तान जगदीप सिंहले पाएको रातो कार्डमा पुनः बिचार गर्न आयोजकलाई आग्रह गरेको छौँ,’ उनले भने, ‘हाम्रो खेलाडीले कुनै गल्ती गरेको छैन । भिडियो फुटेज हेरेर आयोजकले रातो कार्ड लिएको विषयमा पुनः बिचार गरिदिनुपर्दछ ।’ पञ्जाबका कप्तान जगदीपले हामीले उत्कृष्ट खेल प्रदर्शन  गरेकोले नेपालको दर्शकको साथ र समर्थनले गोल्डकपको फाइनलको उपाधि जित्ने दाबी गरे । 

‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशावादी छौँ,’ उनले भने । बिहीबारको अन्तिम सेमिफाइनल खेल सकिएपछि खेलाडीले झगडा गरेपछि पन्जाबका कप्तान जगदीप र सङ्कटाका सहिद स्मार्टलाई रेफ्री श्याम दनुवारलाई रेड कार्ड दिएका थिए।

कार्ड पाएसँगै पञ्जाबका कप्तान जगदीप फाइनल खेल्नबाट बंन्चित हुने भएका छन् । प्रशिक्षक हरनेशका अनुसार जगदीपको ठाउँमा फाइनलमा हरजीन्द्र सिंहको कप्तानमा पञ्जाब पुलिस मैदान उत्रिने छन् ।

चैत २६ देखि सुरु भएको रात्रिकालीन गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट हुने खेलाडीलाई मोटरसाइकल सहित पदक प्रदान गरिनेछ । प्रशिक्षक, गोलकिपर, मीड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्डमा जनही २५/२५ हजार रुपैयाँ पुरस्कार रहेको आयोजकले जानकारी दिएको छ ।

तस्बिर : विराट गोल्डकपको फाइनलअघि प्रि-म्याच कन्फ्रेन्समा बायाँदेखि भारतको पञ्जाब पुलिस क्लब प्रशिक्षक हरनेक सिंह, कप्तान जगदीप सिंह र एपीएफ कप्तान सुदिप सिख्राकार, प्रशिक्षक सुदिप श्रेष्ठ ।