धरान : सुर्खेतबाट धरानकालागी छुटेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

बाँकेको कोहलपुर नगरपालिका-१२ मा टिपरसँग ठोक्किँदा ५ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मे १ ख ३३४७ नम्बरको बस र बालुवा बोकेर विपरीत दिशाबाट आइरहेको अनटेष्ट टिपर ठोक्किएका थिए ।

दुर्घटनामा ३७ जना घाइते छन् । घाइते मध्ये बसमा सवार सात जनाको अवस्था गम्भीर छ । शुक्रवार वीरेन्द्रनगरबाट धरानका लागि छुटेको बस करिब ६ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । घाइते भएकाहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा टिपरका चालकसहित दुई जना र बसमा सवार तीनजना गरी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।