धरान : बाँके जिल्लाको कोहलपुरमा यात्रुवाहक बस र टिप्पर ठोक्किँदा भएको दुर्घटनामा परि मृत्यु हुने पाँचै जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार सिराहा सुखीपुर गाउँपालिका-३ की ३२ वर्षीय अम्बिका कान्ती, कोहलपुर नगरपालिका वडा नं.-१२ का २१ वर्षीय उदय बाँठा, कोहलपुर-१३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत जिल्लाको साटाखानीका ४० वर्षीय जीवनकुमार बिक र झापा जिल्लाको मेची नगरपालिका वडा नं.-१० का ४५ वर्षीय छत्रबहादुर कटुवाल रहेका छन् ।

मृतकमध्ये कोहलपुरका दुई जना टिप्परका चालक र परिचालक रहेका छन् । ज्यान गुमाएका अन्य तीन जना भने बसमा सवार यात्रुहरू रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका छन् । जसमध्ये २ जना सेना र २ जनालाई सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको थियो । त्यस्तै २४ जना घाइतेको नेपालगन्जमै उपचार भइरहेको प्रहरीले बताएको छ ।