धरान : किरात राई यायोख्खा जिल्ला कार्यसमिति सुनसरीले १२ औँ राष्ट्रिय जनगणना एवं संस्थागत प्रशिक्षण दिन थालेको छ ।

यायोख्खाले आउँदै गरेको १२ औँ राष्ट्रिय जनगणनालाई लक्षित गरी किरात राई समुदायको बसोबास रहेको सुनसरीको विभिन्न स्थानहरूमा प्रशिक्षण दिन सुरु गरेको हो । किरात राई यायोख्खाका केन्द्रीय महासचिव शुभचन्द्र राई र किरात राई यायोख्खाका केन्द्रीय सचिव दोर्पध्वज राईले प्रशिक्षण दिइरहेका छन् ।

किरात राई यायोख्खा सुनसरीले एक दिवसीय प्रशिक्षण कार्यक्रम धरान वडा नं. ८ बाट सुरु गरेको हो । किरात राई यायोख्खा सुनसरीका अध्यक्ष बलराम राईको प्रमुख अतिथिमा धरान ८ स्थित यलम्बर पार्कमा प्रशिक्षणको आयोजना गरेको थियो ।

अध्यक्षका राईका अनुसार यसभन्दा अघिको जनगणनामा किरात समुदायको थरमा केही त्रुटि भएका कारण यस पटक त्यस्तो त्रुटि नहोस् भनेर प्रशिक्षणको अभियान नै चलाएको हो । अध्यक्ष राईले किरात राई समुदायका सम्पूर्ण राईहरूले जातीको महलमा राई, मातृभाषामा किरात राईहरूले बोल्ने थरगत (पुर्खौली) भाषा, दोस्रो मातृभाषामा किरात राई समुदायकै अन्य कुनै बोलीचालीको भाषा साथै किरात राई समुदायले मान्ने गरेका प्रकृति पूजक हुनाले धर्मको महलमा किरात लेख्न आह्वान गरिएको छ ।

आफ्नो भाषा, धर्म तथा जातको संरक्षण र सम्र्वद्धन गर्नका लागि प्रशिक्षण दिन थालिएको राईको भनाई छ । अहिले किरात राई यायोख्खाले देशभर नै यो अभियान थालेको छ ।