इटहरी : पत्रकारद्वय अमर खड्का र सुधीर शर्मा सहित प्राध्यापक डाक्टर टङ्क प्रसाद न्यौपाने र माया घर सम्मानित भएका छन् । तारानिधि धनमाया स्मृति प्रतिष्ठानले शनिवार इटहरी उनीहरूलाई सम्मान गरेको हो ।

इटहरीका रामचन्द्र अधिकारीले स्थापना गरेको तारानिधि-धनमायाको प्रतिष्ठानले अघिल्लो वर्षमा जस्तै यस पटक पनि सम्मान कार्यक्रम आयोजना गरेको हो ।

प्रतिष्ठानको अक्षय कोषमा रहेको एक करोडको आम्दानीबाट उनीहरू सम्मानित भएका हुन्। प्रतिभा सम्मान कार्यक्रम मार्फत साहित्यकारमा न्यौपाने, राष्ट्रिय पत्रकारको तर्फबाट कान्तिपुर दैनिकका सम्पादक तथा लेखक शर्मा, स्थानीय पत्रकारमा महासङ्घका केन्द्रीय सदस्य खड्का र संस्थामा इटहरीको माया घर लाई सम्मान गरिएको हो ।

तारानिधि धनमाया स्मृति साहित्य पुरस्कारको राशि ५१ हजार १०१ रुपैयाँ डा. न्यौपानेले पाएका छन् । त्यस्तै कर्म पिता सुब्बा नारायणप्रसाद रिजालको स्मृतिमा स्थापित ३५ हजार १०१ रुपैयाँ राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट शर्मा पुरस्कृत भएका हुन् ।

दिननाथ नारायणी देवी पौडेलको नाममा स्थापित स्थानीय पत्रकारिता पुरस्कारबाट नगद २५ हजार १०१ सहित खड्कालाई सम्मान गरिएको छ। २५ हजार १०१ रुपैयाँ राशि रहेको संस्थागत पुरस्कारबाट इटहरीको माया घर सम्मानित भएको हो ।

पुरस्कार ग्रहणपछि बोल्दै डा. न्यौपानेले उक्त रकम शिक्षाबाट वञ्चित विद्यार्थीको लागी खर्च गर्ने बाचा गरे । आफूले पाएका पुरस्कारहरू यस्तै शिक्षाबाट बन्चीतीमा पर्ने विद्यार्थीको लागी खर्च गर्ने गरेको उनले सुनाए ।

प्रदेश १ प्रमुख सोमनाथ अधिकारी (प्यासी)को प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै उनले विचारले बाँचेको मान्छे कहिल्यै बुढो नहुने भन्दै सम्मानित व्यक्तिहरू जीवन्त रहने बताए। सम्मानित व्यक्ती तथा संस्थाको खुलेर प्रशंसा गरेका उनले प्रतिष्ठानले सही व्यक्तिलाई सम्मान गरेको धारणा राखे।