धरान: धरान वडा नं. २० विष्णुपादुकाकी विजेता राई हरेक शनिवार बिहान ४ बजे उठ्छिन्। धरानको ग्रामीण क्षेत्रकी विजेता बिहानै उठ्छिन्अ नि मुख र दाँत ब्रस गर्छिन्। त्यसपछि उनी घरको मकै भटमास र चिया खान्छिन्। चिया र मकै भटमास खाइसके पश्चात् उनी गाउँका ४, ५ जना साथीहरूसँग धरान-१६ स्थित रङ्गशालामा ६ बजे नै आइपुग्छिन्।  फुटबल सिक्नलाई ।

वर्ष ११ की विजेता फुटबल भनेपछि हुरुक्कै हुन्छिन्। उनी भन्छिन्, ‘मलाई सबैभन्दा मन पर्ने खेल नै फुटबल हो।’ उनले आफूलाई सबैभन्दा मन पर्ने फुटबल खेलाडी मेस्सी रहेको सुनाइन् । उनले नेपाली फुटबल खेलाडीहरूको नाम भने थाहा नभएको सुनाउँछिन् ।

विजेता आफ्नो साथीहरूसँग हरेक शनिवार करिब डेढ घण्टाको बाटो हिँडेर ग्रासरुट फुटबल ट्रेनिङ सिक्न आफ्नो साथीहरूसँग आउँछिन् । फुटबल खेलेर साथीहरूसँगै ९ बजेतिर फर्कने गरेको उनी बताउँछिन् ।

Gross-root-3

विजेताको भविष्यमा गएर देशको एक कुशल फुटबल खेलाडी बन्ने सपना छ । यस्तै धरान-१७ पटनालीका ११ वर्षिय प्रतिमा घिमिरेको पनि फुटबल खेलाडी बन्ने ठुलो सपना छ। प्रतिमा पनि हरेक शनिवार बिहान ६ बजे फुटबल खेल्न रङ्गशाला आइपुग्छिन्। 

यस्तै धरान-१६ की लिशा राना मगर पनि फुटबल भनेपछि भुतुक्कै हुन्छिन् । ११ वर्षकी लिशा हरेक शनिवार बिहान ६ बजे रङ्गशाला पुग्छिन् । लिशाले घरमा पनि एक्लै फुटबल खेल्ने गरेको सुनाइन्।

यस्तै धरान-३ स्थित पुरानो बजारका आशिष् ताम्राकारको पनि फुटबल मोह उस्तै छ । आशिष् राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगर जस्तै बन्न चाहन्छन् । उनी अहिले १० वर्ष पुगे । आशिष् पनि बिहान आफ्नै टोलका दौतरीहरुसँग ६ बजे रङ्गशाला पुग्ने गरेको सुनाउँछन् । आषिशको मन पर्ने खेलाडी विमल घर्ती मगर हो । त्यसैले आषिशको भविष्यमा विमल जस्तै खेलाडी बन्ने लक्ष्य छ । उनले भने, ‘ग्रासरुट फुटबल ट्रेनिङमा आएपछि फुटबल सम्बन्धी धेरै नै ज्ञान पाए, खेल्न पनि सिके।’

धरान उपमहानगरपालिकाको आयोजनामा गत फागुन दोस्रो साताबाट हरेक शनिवार १२ वर्ष मुनिका बालबालिकालाई धरान १६ स्थित रङ्गशालामा ग्रासरुट फुटबल ट्रेनिङ सञ्चालन भइरहेको छ।

पमहानगरपालिकाका फुटबल प्रशिक्षक अर्जुन राईले ग्रासरुट फुुटबल ट्रेनिङ ८ औँ हप्ता पुरा भएको जानकारी दिए । उनका अनुसार अहिले धरान उपमहानगर भरिका करिब ३ सय जना बालबालिकाले प्रशिक्षण लिईरहेका छन् । अभिभावकहरूबाट पनि राम्रो प्रतिक्रिया आइरहेको उनले जानकारी दिए।

ग्रासरुट फुटबल ट्रेनिङले बालबालिकामा खेल प्रतिको ऊर्जा थपिएको उनको दाबी छ । प्रशिक्षार्थीहरूलाई ८ औँ हप्तासम्म आइपुग्दा ट्रेनिङ उत्कृष्ट दिइरहेको प्रशिक्षक राईको दाबी छ।

अहिले पुनः कोरोनाको सङ्क्रमण बढिरहेको बताउँदै प्रशिक्षक राईले अब ग्रासरुट फुटबल ट्रेनिङलाई स्थगित गर्ने बारे कुनै छलफल नभएको बताए । स्वास्थ्य सचेतना अपनाउँदै बालबालिकाहरूलाई प्रशिक्षण दिँदै आएको बताए। ग्रासरुट फुटबल ट्रेनिङ असार महिनासम्म चल्नेछ।

धरान उपमहानगरका नगर प्रमुख तिलक राईले धरान खेलकुदको सहर रहेको बताउँदै खेलकुदको विकास तथा प्रवर्द्धन गर्नका लागि बालबालिकाको लागि ग्रासरुट फुटबल ट्रेनिङ उपमहानगरपालिकाले आयोजना गरेको बताए।

धरान राष्ट्रिय खेलाडी उत्पादन गर्ने थलो रहेको बताउँदै ग्रासरुट ट्रेनिङबाट नै फुटबल खेलाडी उत्पादन गर्न सकिने नगर प्रमुख राईको भनाई छ । नगर प्रमुख राईले अहिले कोरोना भाइरसको दोस्रो लहर सुरु भएका कारण स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्दै सजग रहन पनि आग्रह गरेका छन् ।

grass-root-football-2