सुनसरी : सुनसरीको दुहबीमा ९ दिनअघि सम्पन्न अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिपको उपाधि विजेता प्रदेश एकको टिमलाई सम्मान गरिएको छ।

चैत्र २७ गते सम्पन्न फाइनलमा गत वर्षको विजेता भारत पटनालाई पराजित गर्दै प्रदेश एकले तेस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिप प्रतियोगिताको उपाधि जितेको थियो ।

सोही गोल्डकपको उपाधि विजेता टिमका खेलाडी, प्रशिक्षक र आयोजकलाई प्रदेश एक डोरीतान सङ्घले सम्मान गरेको हो।

विदेशी टिम भारत पटना माथि लगातार दुई सेटको जित निकाल्दै उपाधि जित्न सफल खेलाडीहरूलाई जनही नगद ३५ सय सहित सम्मान पत्रद्वारा सम्मान गरिएको हो । सम्मानितहरूलाई पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित तथा प्रदेश एक डोरीतान अध्यक्ष रिता न्यौपानेले सम्मान गरे।

सुनसरी जिल्ला डोरीतान सङ्घले एक साताअघि आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक टोली सहित ४ वटा प्रदेशका टोलीहरू, ३ विभागीय टिम र भारतका २ टोलीहरूको सहभागिता थियो।

वि.सं २०७५ मा सुनसरी जिल्ला डोरीतान सङ्घले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिता सम्पन्न गरेको थियो ।

त्यसैगरी सङ्घले २०७६ फाल्गुन २३ र २४ गते दोस्रो मनमोहन अन्तर्राष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिप आयोजना गरेको थियो । सुनसरी जिल्ला डोरीतानका अध्यक्ष निश्चल राज शाक्यले जानकारी दिए ।