इटहरी : प्रदेश १ प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यको घोषणा भएको छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले पठाएको पत्र वाचन गर्दे सभामुख प्रदीप कुमार भण्डारीले अधिवेशन अन्त्यको घोषणा गरेका हुन् ।

सभामुख भण्डारीले अधिवेशन अन्त्यको घोषणा गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका सांसदले विरोध जनाएका थिए । विरोधका बाबजुद पनि भण्डारीले पत्र वाचन गरेर अधिवेशन अन्त्यको घोषणा गरेका हुन् ।

लामो समय सुचारु हुन नसकेको प्रदेश सभा बैठक अर्को अधिवेशन सम्मको लागी अन्त्य भएको हो । प्रदेश सरकारको वैशाख ५ गतेको सिफारिसका आधारमा नेपालको संविधानको धारा १८२ को उपधार २ बमोजिम अधिवेशन अन्त्य भएको संसद् सचिवालयले जनाएको छ । विज्ञप्ति जारी गर्दै सचिवालयले ५ गते आइतबार रातको १२ बजे देखी अधिवेशन अन्त्य हुने जनाएको छ ।

हिउँदे अधिवेशनको सुरु देखी नै संसद् राम्ररी चल्न सकेको थिएन । मुख्यमन्त्री बिरुद्धको अविश्वास प्रस्ताव टेबल भएपछि प्रदेश सभा बैठक भाँडिएको थियो । नेकपा विभाजन भएर माओवादी केन्द्र र नेकपा एमाले पुरानै अवस्थामा आएपछि अविश्वासको प्रस्ताव असफल भएको थियो । त्यसपछि काँग्रेस, माओवादी केन्द्र, जसपाले छुट्टै माग राखेर ३ पटक सम्म संसद् अवरुद्ध गरे ।

चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमहरू सुचारु हुनुपर्ने, विकाश आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र परेको आयोजनाको काम सुचारु गर्नुपर्ने लगायत माग राखेर संसद् अवरुद्ध गर्दै आएका थिए । आइतबारको बैठकमा पनि सोही माग दोहोर्‍याए पछि सभामुख भण्डारीले अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए ।

Suchana