धरान : जिल्ला प्रहरी कार्यालय उदयपुरले युवति हत्या अभियोगमा एकजनालाई पक्राउ गरेको छ।

प्रहरीले दिएको जानकारी अनुसार उदयपुरको रौतामाई गाउँपालिका-७ नवज्योति सामुदायिक वनको हिले खोल्सीमा युवतीले बलात्कारको प्रतिकार गर्दा सोही ठाउँमा युवाले ढुङ्गा प्रहार गरी हत्या गरेको खुलेको छ।

बलात्कार पछि हत्या गरेको आरोपमा रौतामाई ७ बस्ने २४ वर्षका राजु आछामलाई पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख भीम बहादुर दाहालले जानकारी दिए ।

बैशाख ३ गते नवज्योति सामुदायिक वनको हिले खोल्सी शिरमा घाँस दाउरा काट्न गएकी एक स्थानीय युवतीले अस्थिपञ्जर (कंकाल) फेला परेको जानकारी प्रहरीलाई दिएकी थिइन।

उदयपुरको विशेष प्रहरी टोली आएर घटनास्थलको अनुसन्धान गरेको थियो ।

प्रहरीले घटनास्थलको वरिपरि कतै चुरा , चप्पल ,पोते, टोपी , सल , रगत लत्पतिएको ढुङ्गा समेत फेला पारेको थियो । चुरा पोते देखे पछि प्रहरीले युवति विवाहित भएको अनुमान गर्यो भने खबटा (मासु नभएको हाड मात्र भएको टाउको) मा दुलो परेको देखे पछि प्रहरीले कसैले हत्या गरेको हुनसक्ने बिश्लेशण गरेर सूक्ष्म अनुसन्धान सुरु गरेको दाहालले जानकारी दिए ।

दाहालका अनुसार प्रहरीले बरामद गरेको रगत दलिएको ढुङ्गाले नै हत्या गरेको अनुसन्धानमा खुलेको छ ।

चप्पल र टोपीले पत्ता लगायो अपराधी : प्रहरी

घटनास्थलमा भेटिएको चप्पल लिएर प्रहरीले हत्याको अनुसन्धान गर्न गाँउ पसेको थियो । स्थानियले दिएको जानकारी अनुसार केटीहरुलाई हातपात गर्ने, चारी गर्ने, लागुऔषध सेवन गर्ने तथा बिक्री गर्ने राजुको नाम स्थानीयले लिएका थिए । नाम थाहा पाए पछि प्रहरीले घटना घटेको ३ किलोमिटर टाढा पुगेको थियो ।

हत्या गरेको यति दिन पनि प्रहरीले थाहा पाएन भनेर निडर बसेका राजुको प्रहरी देख्ना साथ भाग्न थाले । प्रहरीले घटना स्थलका प्रमाणका आधारमा राजुलाई तत्काल पक्राउ गरेर अनुसन्धान गर्यो ।

जंगलमा गएर उनी कहिले काँही हत्या गरेको युवतीको शव हेरेर फर्केने गरेको समेत खुलेको छ ।

प्रहरीले अनुसार युवतीको नाम थर वतन अहिले सम्म पनि खुलेको छैन् । मानव कंकालका आधारमा मुर्कुची, सुकौरा, राजाबास,अधेरी एरियामा मागी खाई हिड्ने तराईबासी जस्तो देखिने (मानसिक सन्तुलन गुमाएको) हेर्दा २६/२७ की महिला हुन ।

कंकालको पोस्टमार्टम रिपोर्ट जिल्ला अस्पताल उदयपुरको अस्पतालको मर्चरीमा राखिएको छ भने पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको प्रहरीको भनाई छ। हड्डीले रिपोर्टले घटनाको थप पुष्टी हुने प्रहरीको भनाई छ ।

केही दिन देखी उनी मकुची बजारमा माग्दै आएको विवाहित महिला भएको खुलेको छ । उनीलाई राम्रो नेपाली भाषा पनि नआएको बुझिएको छ ।

यौनसम्पर्क गर्न नमानने पछि हत्या गरे : अभियुक्त

उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी हत्या मुद्यामा १० दिनको म्याद थप पछि हिरासतमा रहेका राजुले प्रहरीलाई बयान दिँदै यौन सम्पर्क गर्न नमाने पछी हत्या गरेको स्विकार गरेका छन ।

अभियुक्त राजुले आफूले पनि नचिनेको जंगलमा मानसिक सन्तुलन गुमाएको केटी भएकाले कसले किटान जाहेरी दिन्छ र प्रहरीले पक्राउ गर्छ भन्ने सोच भएको समेत उनले प्रहरीलाई बताएका छन ।