धरान : सुनसरी र झापामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जनाकारी अनुसार सुनसरीको दुहबी नगरपालिका २ मा रहेको प्रिमियम स्टिल फ्याक्ट्रीमा काम गर्ने कामदारको फलामले किचेर मृत्यु भएको छ ।

आज बिहान ६ बजे सोही फ्याक्ट्रीका कामदार सप्तरी छिन्नमस्ता २ का ४० वर्षीय दीपेन्द्र यादवले फलाम पल्टाउँदा सोही फलामले किचेर घाइते भएका थिए । उनलाई उपचारको लागी न्युरो अस्पताल विराटनगरमा पुर्‍याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

यसै गरी झापा मेचीनगर नगरपालिका ७ मा पूर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

आज बिहान साढे ९ बजे पूर्व जाँदै गरेको WB73B3324 नम्बरको भारतीय ट्रकले साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर नगरपालिका ८ जोर सिमल का ३० वर्षीय मनोज मेचे गम्भीर घाइते भएका उनको विएन्डसी अस्पतालमा उपचारको क्रममा बिहान सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रक प्रहरी नियन्त्रणमा रहेको र चालक फरार रहेकोले खोजतलास भइरहेको सो कार्यालयले जनाएको छ ।