धरान : धरान उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई फारम वितरण गर्ने तयारी गरेको छ ।

धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईको अध्यक्षतामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन प्रमाणीकरण तथा नाप नक्सा गर्ने कार्यमा सहयोग र सहजीकरण गर्न बनेको भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समितिको आज बसेको बैठकले वडा वडामा फारम वितरण गर्ने तयारी गरेको हो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न फारम वितरण गर्ने भएको हो । धरानको २० वटै वडामा कर्मचारी व्यवस्थापन गरिएको जनाइएको छ ।

सहजीकरण समितिको पहिलो बैठकले आज देखि शनिवारसम्म प्रचार प्रसार गर्ने, विशेष गरेर धरान उपमहानगरको सबैभन्दा बढी सुकुम्वासीको बसोबास रहेका वडाहरू ५, ११, १३, १५, १६ र १७ मा कार्यक्रम गरी प्रचार प्रसार गर्ने भएको छ ।

यसको लागि सहजीकरण समितिका सदस्यहरूसँग समन्वय गरी प्रचार प्रसार सामग्री तयार गर्ने निर्णय गरिएको लगत सङ्कलन इकाई प्रमुख वेद प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उनका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोभिडको सङ्क्रमण तथा भिडभाड व्यवस्थापन गरी सकेसम्म घरघरमा गएर फारम भराउने कार्यका लागि योजना बनाउन सबै वडाहरूलाई अनुरोध गर्ने निर्णय समेत गरिएको छ । वैशाख १२ गते आइतबारदेखि फारम भराउने कार्य सुरुवात गरिने बैठकले निर्णय गरेको छ ।

सहजीकरण समितिको अर्को बैठक वैशाख ११ गते शनिवार बिहान ८ बजे बस्ने निर्णय समेत गरिएको छ ।

सहजीकरण समितिमा नगर प्रमुख तिलक राई संयोजक, उपप्रमुख मञ्जु भण्डारी सहसंयोजक, प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनाल सदस्य सचिव, नेकपा एमालेका प्रतिनिधि राजमणि निरौला सदस्य, नेपाली काँग्रेसका प्रतिनिधि नरसिंह राई सदस्य, नेकपा एमालेका प्रतिनिधि हर्कजङ एभेङ सदस्य, माओवादी केन्द्रका प्रतिनिधि सुदर्शन श्रेष्ठ सदस्य, जनता समाजवादी पार्टीका प्रतिनिधि ताजुब लिम्बु सदस्य, कार्यपालिका सदस्य हीरादेवी राई सदस्य, कार्यपालिका सदस्य कल्पना थापा मगर सदस्य, नेपाल बसोवास बस्ती संरक्षण समाज धरानका सचिव सुवास राई सदस्य र समाजसेवी पञ्चकला राई सदस्य रहेका छन् ।