झापा : झापाको दमकमा रहेको निम्स नेशनल अस्पतालले आइसियु र एन आइसियु सेवा आज देखी सुरु गरेको छ ।

चार वर्षअघि स्थापना भएको निम्स नेशनल अस्पतालले सेवाग्राहीहरूलाई गुणस्तरीय र प्रभावकारी सेवा उपलब्ध गर्ने उद्देश्य सहित ५ बेडको आइसियु र ५ बेडको एनआईसियु सेवा सुरु गरेको हो ।

आइसियु र एनआईसियु कक्षको उद्घाटनको अवसर पारेर निम्स नेशनल अस्पतालले नयाँ वर्ष २०७८ सालको शुभकामना आदान–प्रदान समेत गरेको छ । अस्पतालका अध्यक्ष भलभद्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले आइसियु र एनआईसियु कक्षको रिबन काटेर उद्घाटन गरे ।

कार्यक्रममा अस्पतालका अध्यक्ष कोइरालाले निम्स नेशनल अस्पतालको स्थापनाकालदेखि सेवाग्राहीहरूलाई गुणस्तरीय र प्रभावकारी सेवा दिर्दै आइरहेको बताए । उनले अस्पतालमा १९ जना विभिन्न विशेषज्ञ डाक्टरहरूले अस्पतालमा दैनिक सेवा दिइरहेको बताए । अध्यक्ष कोइरालाका अनुसार हाल अस्पतालमा चौबिसै घण्टा ६ जना डाक्टरहरू छन् भने विभिन्न डिर्पाटतर्फ गरेर कुल एक सय बढी कर्मचारीहरू छन् ।

चार वर्षअघि भाडामा घर लिएर दमक–९ क्याम्पस मोडमा सेवा सञ्चालन गरेको निम्स नेशनल अस्पतालमा २५ जना सञ्चालकहरू छन् । आगामी वर्ष एक सय बेडको अस्पताल बनाउने लक्ष्य रहेको अस्पतालमा हाल २५ बेड सहितको दुई वटा भवनबाट सेवा सञ्चालन भइरहेको छ । अस्पतालमा बालबच्चाको निम्ति मिनी हाई केयरको एनआईसियु कक्ष रहेको छ ।

दमकमा सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थापित व्याक्तिहरुले स्थापना गरेको अस्पतालले आगामी समयमा चौबिसै घण्टा भिडियो एक्स-रे र सिटी स्क्यान सेवा ल्याउने तयारी रहेको अध्यक्ष कोइरालाले बताए ।

अस्पताल सञ्चालकहरूमा पूर्व प्रहरी अधिकृत मोहन कार्की, दमक उद्योग वाणिज्य सङ्घकी उपाध्यक्ष एवम् व्यवसायी रमा लिम्बु, गणेश प्रधान, चन्द्रकला भट्टराई लगायतका व्याक्तित्वहरु छन् ।