विराटनगर : प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छिन् । उनले मर्यादित राष्ट्र बनाउने काममा स्काउटको भूमिका आवश्यक रहेको बताइन् ।

नेपाल स्काउट प्रदेश समितिले आयोजना गरेको दीक्षान्त समारोहमा मन्त्री राई ले सो कुरा बताएकी हुन् । उनले प्रत्येक बालबालिकालाई स्काउट शिक्षा आवश्यक रहेकोमा जोड दिइन् ।

प्रदेशका विद्यालयमा स्काउट शिक्षा लागू गराउनका लागि आफू प्रतिबद्ध रहेको समेत मन्त्री राईले बताइन् । मन्त्री राईले भनिन्‘ मानव जीवनलाई समृद्ध बनाउने काम स्काउटले गर्छ ।’

सामाजिक विकास मन्त्रीमा नियुक्त भएपछि नेपाल स्काउट प्रदेश समितिले आज मन्त्री राईलाई दीक्षित गरेको हो । सामाजिक विकास मन्त्रालयमा आयोजित दीक्षान्त समारोहमा मन्त्री राईलाई नेपाल स्काउट ऐन बमोजिम प्रदेश प्रमुख स्काउटका रूपमा दीक्षित गरेको हो ।

दीक्षान्त समारोहमा नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले नेपालमा नैतिकवान् नागरिक उत्पादनका लागि स्काउटले काम गरिरहेको बताए ।

प्रदेश संयोजक रवि खनालले सीमित विद्यालयमा रहेको स्काउट अहिले ठुलो मात्रामा फैलिएको बताए । उनले प्रदेश १ का ५ सय बढी व्यक्तिहरूलाई स्काउट लिडरको तालिम प्रदान गरिएको जानकारी दिए ।

दीक्षान्त समारोहमा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, उपसचिव अम्बिका चौलागाई, स्काउटका सल्लाहकार लगायतको सहभागिता रहेको थियो ।