धरान : पहिलो र दोस्रो प्राथमिकतामा कोरोना विरुद्धको खोप लगाउनेहरूलाई वैशाख ७ गते मंगलबार देखि ११ गते शनिवार सम्म दोस्रो मात्राको खोप लगाइने भएको छ ।

गत माघ र फागुनमा पहिलो र दोस्रो प्राथमिकतामा कोरोनाविरुद्ध खोप लगाएकाहरूलाई लक्षित गरेर धरानमा पनि मङ्गलवारदेखि खोप लगाइने भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

धरानको छाताचोकस्थित पुरानो अस्पतालमा खोप केन्द्र रहने प्रमुख मेहेताले बताएका छन् । प्रमुख मेहेताका अनुसार पहिलो प्राथमिकतामा रहेर गत माघ १४ गतेदेखि २३ गतेसम्म फ्रन्टलाइनरहरुले खोपको पहिलो मात्रा लगाएका थिए ।

यस्तै, दोस्रो प्राथमिकतामा रहेकाहरुले फागुन २ गतेदेखि १० गतेसम्म खोपको पहिलो मात्रा लगाएका थिए । उनीहरूलाई लक्षित गरेर खोपको दोस्रो मात्रा लगाउने अभियान हो ।

माघ १४ देखि २३ गतेसम्म र फागुन २ देखि १० गतेसम्म पहिलो मात्रामा खोप लगाएकाहरूले खोप केन्द्रमा आएर दोस्रो मात्राको खोप लगाउन खोप कार्ड अनिवार्य लिएर आउन मेहताले आह्वान गरेका छन् ।