इटहरी : सहिद परिवारका छोराछोरी पढाउने उद्देश्यले सञ्चालित सहिद आवासीय माध्यमिक विद्यालयमा भ्रष्टाचार भएको भन्दै विरोध सुरु भएको छ ।

इटहरी-१९ भवानीपुरमा रहेको सो विद्यालयमा स्थापनाकाल देखीको हिसाबकिताब अपारदर्शी भएको भन्दै स्थानीयले आन्दोलन गरेका हुन् ।

व्यवस्थापन समिति विरुद्ध ज्ञापन पत्र बुझाउँदै स्थानीयले विद्यालयमा तालाबन्दी समेत गरे। भ्रष्टाचार विरुद्ध सङ्घर्ष समिति बनाएर उनीहरू आन्दोलनमा उत्रिएका हुन्। लक्ष्मणकुमार राई संयोजक रहेको समितिले विद्यालयमा भ्रष्टाचार देखिएकाले आन्दोलन गर्नुपरेको प्रस्ट पारेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीको नाममा ८० लाख बेरुजु देखिएको कुरा बाहिर आएपछि आफूहरू आन्दोलनमा उत्रिनु परेको संयोजक राईले बताए । नेपाल सरकार बाट बर्षीक आउने ३ करोड २० लाख रुपैयाँको हिसाब समेत लुकाएको कारण आफूहरू सशङ्कित भएको उनको बुझाइ छ। 

'विद्यालय पछिल्लो समय माओवादी केन्द्रको पार्टी कार्यालय जस्तो भयो'

सहिद परिवारका सन्तानको स्याहार तथा शिक्षाको लागी सुरु भएको विद्यालय पछिल्लो समय माओवादी केन्द्रको पार्टी कार्यालय जस्तो भएको उनको आरोप छ । द्वन्द पिडितका सन्तानहरू सकिएपछि धनी महाजन माओवादी नेताका सन्तानले मात्र विद्यालयमा मात्र ठाउँ पाउने गरेको राईले बताए । 

सोही विषयलाई लिएर राई नेतृत्वको समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा निवेदन दर्ता गराइसकेको छ । उनका अनुसार जिल्ला शिक्षा कार्यालय तथा इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखामा पनि निवेदन परेको छ । बिना प्रतिस्पर्धा कर्मचारी नियुक्ति गरेको, एउटा पार्टीको मात्र बोलवाला रहने गरेको, राम्रा भन्दा हाम्रालाई प्राथमिकता दिइएको उनीहरूको आरोप छ ।

संयोजक राई पीडितको नाममा बिचौलियाहरू हाबी भएको बताउँछन्। विद्यालय माओवादीको सिन्डिकेट जस्तै भएको उनको भनाई छ। विद्यार्थीहरूले पनि भ्रष्टाचार छानबिनको माग गरेको छन् ।

व्यवस्थापन समितिले भने स्कुलका प्रधानाध्यापक र लेखापाललाई निष्कासित गर्ने तयारी थालेको छ । बिना जानकारी प्रधानाध्यापक शिवचन्द्र राई र लेखापाल लीलाराज काफ्लेलाई जिम्मेवारीबाट हटाउन खोजिएको  देखिएको छ । हालसम्म निष्कासित भएको औपचारिक जानकारी आई नसकेको प्रअ राईले बताए । आफू प्रअ हुनुभन्दा पहिला आर्थिक अनियमितता भएको कुरा बाहिर आएपछि व्यवस्थापन समिति अत्तालिएको उनको भनाई छ ।

भ्रष्टाचारको विषयमा आन्दोलन सुरु भएपछि प्रअ राई र लेखापाल काफ्ले विद्यालय जान छाडेका छन् । माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा पुनः पुरानै अवस्थामा आएपछि राई र काफ्ले ओली समूहको एमालेमै रहेका छन् । माके भन्दा बाहिरका कार्यकर्ता भएपछि निष्कासित हुनुपरेका उनीहरूको दुखेसो छ  । विद्यालय परिसरमै नाराबाजी गरेका उनीहरूले प्रअ र लेखापालको पद बहाली हुनुपर्ने माग राखेका छन् ।

इटहरी उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख सूर्य सुवेदीका अनुसार व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, स्थानीय अभिभावक र प्रअ बीच छलफल भए पनि निकास आउन सकेको छैन । आफूहरू समस्या समाधानको पक्षमा रहेकोले वार्ता बाटै समस्या समाधान गरिने उनले बताए ।

उता व्यवस्थापन समिति अध्यक्ष मणिराम गिरीका अनुसार केही कर्मचारी साथीहरू चरित्रहत्यामा उत्रिएको बताउँछन् । आफै प्रअ र लेखापाल हुने र अरूलाई भ्रष्टाचारको आरोप लगाउने काममा लागी परेको उनले बताए ।

“शिवचन्द्र सर र काफ्ले जी ले अनावश्यक सेवासुबिधा लिन खोज्नु भएको थियो । बिचमा केही महिना आफै तलब बढाएर पनि खानुभयो ।,” उनले भने, “मैले बारम्बार त्यसको विरोध गरेर रोकेपछि उनीहरू विद्यालय आउनै छाडे । मलाई भ्रष्टाचारी भन्दै आफै भ्रष्टाचार गर्छन् उनीहरू ।” 

Tarahara Sahid school ujuri