बागलुङ : बागलुङको एक विद्यालयका शिक्षक विद्यार्थी गरी ३९ जनामा एकै दिन कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर १४ बलेवामा रहेको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बागलुङले उक्त विद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा सङ्क्रमण पुष्टि भएको कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए।

पुष्टि भएकालाई घरघरमै सुरक्षित रहन भनिएको छ । तर उनीहरुसँगै पढेका अन्य विद्यार्थी बिदा मनाउन कता पुगेका छन् भन्ने विद्यालयमा जानकारी छैन। 

संक्रमणको जोखिम उच्च छ भनेर स्वास्थ्य मन्त्रालयले भने पनि विद्यालय बन्द गर्ने नगरपालिकाले निर्णय गरेको छैन ।

मन्त्रिपरिषद्को निर्णयले समेत यहाँ भन्ने सम्बोधन नगरेको भन्दै विद्यालय खोल्ने निष्कर्षमा पुगेको नगर शिक्षा अधिकारी डण्डपाणी शर्माले बताए । 

सङ्क्रमण बढेपछि अभिभावकले विद्यालय बन्द गर्नु पर्ने माग गरेका छन् ।

यस अगाडी पनि बागलुङका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोरोना सङ्क्रमण भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार एक सय पाँच पुगेको छ ।