धरान : धरानका विद्यालयहरू बिहीबारदेखि पुर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।

धरान उपमहानगरका नगर प्रमुख तिलक राईको अध्यक्षतामा आज बसेको सरोकारवाला पक्षसँगको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा उपप्रमुख मञ्जु भण्डारी सुवेदी, सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधि, शिक्षक सङ्घ सङ्गठनका प्रतिनिधि र प्रधानाध्यापक तथा प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो ।

आज धरान उपमहानगरपालिकामा बसेको बैठकले भोलि (बुधवार) विद्यार्थीहरूलाई वार्षिक परीक्षा र स्वास्थ्य सुरक्षा प्रोटोकलबारे जानकारी गराउन एक दिन विद्यालय लाग्न दिने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख रत्न कटवालले जानकारी दिएका छन् ।

उनले यही वैशाख १४ गतेदेखि वार्षिक परीक्षा सुरु हुने र २४ गतेभित्र परीक्षा सक्ने निर्णय गरिएको बताए ।

विश्व भरी फैलिँदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी नेपालमा समेत सङ्क्रमण बढ्दै गएको सन्दर्भमा रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले धरान सहित देशका विभिन्न सहरहरूमा रहेका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)मा वैशाख मसान्तसम्म भौतिक रूपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार आज धरान उपमहानगरपालिकामा बैठक बसेको हो ।