धरान : नयाँ भेरियन्टसको कोरोना महामारीको सङ्क्रमण फैलिन थालेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले रोकथाम तथा नियन्त्रणको लागि एक सूचना जारी गर्दै अनिवार्यरुपमा पालना गर्न अनुरोध गरेको छ ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीद्वारा हस्ताक्षरित ७ बुँदे सूचना परिपत्र जारी गर्दै कोरोना रोकथाम तथा नियन्त्रणको लागि अनिवार्य पालना गर्न अनुरोध गरिएको छ ।

प्रतिष्ठानका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई प्रतिष्ठानबाट बाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउन, पटक पटक साबुन पानीले हात धुने वा सेनिटाइज गर्न र भरसक एक अर्कासँग २ मिटरको दुरी कायम गर्न आग्रह गरिएको छ ।

यसै गरी, आ-आफ्नो कार्यालयमा स्यानिटाइजर र मास्क प्रयोग गर्ने, मास्क नलगाउने व्यक्तिलाई कार्यालयमा प्रवेश निषेध गर्न पनि अनुरोध गरेको छ ।

सार्वजनिक स्थानमा जथाभाबी नथुक्न र प्रयोग गरेको मास्क जथाभाबी नफाली डस्टबिन वा प्लास्टिक झोलामा बन्द गरी बिर्सजन गर्न सूचना परिपत्रमा उल्लेख छ । पिसिआर परीक्षणको लागि स्वाब दिएको भए वा विदेश भ्रमण गरी आएको भएमा अनिवार्य होम क्वारेनटाइनमा बस्न पनि प्रतिष्ठानले आग्रह गरेको छ ।

सभा, सम्मेलन, गोष्ठी, सेमिनार, समीक्षा बैठक, तालिम, प्रशिक्षण जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्न भनेको छ । यसै गरी, प्रतिष्ठान हाताभित्र रहेको खेलमैदानमा आजको मिति देखि कुनै पनि खेल नखेल्न र हिँडडुल बन्द गर्न तथा जिम हल पनि बन्द गर्न सम्बन्धित शाखाले मिलाउने पनि परिपत्रमार्फत निर्देशन दिइएको छ ।

BP-Suchana