धरान : नेपाली काँग्रेसका धरान उपमहानगर सभापति तथा मेयर तिलक राईले यसपालि सम्पन्न नेपाल पत्रकार महासङ्घको चुनाव परिणामले मुलुकको वर्तमान राजनीतिक माहौलमा सही सन्देश दिएको बताएका छन् । उनले भने ‘सत्तामुखी प्रतिगमन विरुद्ध लोकतान्त्रिक पद्धतिका लागि अग्रगामी गठबन्धनको सफलताले मुलुकको राजनीतिलाई त्यही बाटोमा जानुपर्ने सन्देश दिएको छ ।’

महासङ्घको सुनसरी जिल्ला समितिका नवनिर्वाचित सभापति जनकऋषि राई सहित कार्यसमितिका साथै केन्द्रीय, प्रदेश–१ का पदाधिकारी, परिषद् सदस्यहरूको स्वागतमा सभापति राईले उक्त कुरा बताएका हुन् । विमल स्मृति पुस्तकालयमा नेपाली काँग्रेस उपमहानगर समितिद्वारा आयोजित समारोहमा प्रमुख अतिथि प्रदेश १ सभाका सांसद चन्द्रप्रसाद श्रेष्ठ प्रमुख अतिथि थिए ।

उनले सर्वोच्च अदालतको आदेशले उथल पुथल गरिदिएको मुलुकको राजनीति अस्थिरता तर्फ धकेलिएको बताउँदै पत्रकारहरूले जिम्मेदार भई भूमिका निर्वाह गर्नुपर्ने बताए । काँग्रेस जिल्ला सचिव सुजेन्द्र तामाङले पत्रकारहरूले अग्रगमन पक्षधर एकजुट हुनुपर्ने दिएको सन्देश लाई राजनीतिक दलहरूले व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

काँग्रेस सुनसरी-१ का सभापति सुरेशमान श्रेष्ठले गठबन्धनको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिदैं भने ‘पत्रकारहरूको चुनावले नाङ्लोमा चिफनेर कनिका फाले जस्तै प्रतिगमन पक्षधरलाई बाहिर पु¥याएको छ, यो सहकार्य जारी रहोस् ।’ महासङ्घका नव निर्वाचित सुनसरी सभापति जनकऋषि राईले सहकार्यको निरन्तरता लाई जारी राख्ने प्रतिबद्धता जनाउँदै पत्रकारितामा आएको विकृती विसंगती सुधार गर्न, पत्रकारका हकहितका कार्यमा सबैको सहयोग अपेक्षित रहेको बताए ।

पार्टी सभापति राईको अध्यक्षतामा भएको समारोहमा महासङ्घका उपसभापति गणेश निरौलाले महासङ्घले अग्रगामी कार्यक्रमहरू अघि बढाउने बताए । पार्टी नगर सचिव श्याम पोखरेलले सञ्चालन गरेको समारोहमा महासङ्घका नव निर्वाचित कार्यसमितिका साथै केन्द्र, प्रदेशका उपस्थित सदस्य, परिषद् सदस्यहरूलाई सयपत्री फुलका माला, अबिर लाई बधाई ज्ञापन गरिएको थियो ।