काठमाडौँ : कर्तव्य ज्यान मुद्दामा सङ्घीय संसद्का सभामुख अग्नि सापकोटाविरुद्ध आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सापकोटाविरुद्ध विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाइ आज हुन लागेको हो ।

उनिविरुद्धको मुद्दा संवैधानिक इजलासमा तोकिएको छ । इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खडका, हरिकृष्ण कार्की र ईश्वर खतिवडा रहेका छन् ।

लामो समयदेखि पेसीमा नचढेको उक्त मुद्दा आज सुनुवाइ हुने भएको हो । सशस्त्र द्वन्द्वको ससमय काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव भेटिएको थियो ।

उनको हत्यामा सापकोटाको संलग्नता रहेको आरोपमा अर्जुनकी श्रीमती पूर्णिमायाले २०६९ साल मङ्सिर ७ गते न्यायको माग गर्दै रिट दायर गरेकी थिइन् । उक्त रिटको पछिल्लो पटक गत माघ २३ गते संवैधानिक इजलासमा पेसी चढेको पनि हेर्न नभ्याइनेमा परेको थियो । यो रिट यसअघि १९ पटक पेसीमा चढेको थियो।

सुरुमा पूर्णिमायाको जाहेरी प्रहरीले लिन नमानेको यो मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ। जिल्ला प्रशासनको आदेशमा प्रहरीले जाहेर नलिएको विषयलाई लिएर पूर्णिमायाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।