इटहरी : सुनसरीको इटहरीमा बसोबास गरिरहेका भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित वसोवासीलाई व्यवस्थित गर्न प्रक्रिया सुरु गरिएको छ ।

इटहरीमा भोलि वैशाख ९ गते देखि २० वटै वडाका टोल टोलमा लगत सङ्कलन सुरु गरिँदै छ । लगत सङ्कलनका लागि २५ जना कर्मचारी खटिने छन् । ठुला ५ वटा वडामा दुई दुई जना र अन्य वडामा एक एक जनाका दरले कर्मचारी खटाइएको छ ।

वैशाख महिना भित्रमा इटहरीका सबै भूमिहीन सुकुम्वासी भूमिहीन दलित र अव्यवस्थित वसोवासीको लगत सङ्कलन गरी सकिने छ । इटहरीमा भूमि सम्बन्धी समस्यालाई समाधानका लागि सहजीकरण गर्न नगरप्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समिति गठन गरिएको छ ।

यसै गरी सबै वडामा वडाध्यक्षको संयोजकत्वमा वडा स्तरीय भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समिति गठन गरिएको छ । नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समितिको बैठक बसी लगत सङ्कलन कार्यलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ ।

बैठकमा भूमि सम्बन्धी समस्या समाधान आयोग सुनसरी अध्यक्ष खेमराज पोखरेलले बैठकमा उठेका प्रश्नहरूको जवाफ दिए । यसै गरी प्रत्येक वडामा गठित वडा स्तरीय भूमि सम्बन्धी समस्या सहजीकरण समितिको बैठक बसी लगत सङ्कलन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको छ ।

उपमेयर लक्ष्मी गौतमका अनुसार लगत सङ्कलनमा खटिने कर्मचारीहरूलाई तालिम दिइएको छ । सम्बन्धित वडाका जनप्रतिनिधि र वडा सचिवलाई लगत सङ्कलनलाई प्रभावकारी बनाउने विषयमा सहजीकरण गरिसकिएको छ ।