धरान : बिरामीको अत्यधिक चापलाई मध्यनजर गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी विस्तार गरिएको छ ।

आज प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले रिबन काटेर नयाँ इमरजेन्सी ब्लकको उद्घाटन गरेका छन् । उद्घाटनका बेला शिक्षाध्यक्ष प्रा.डा. गुरु प्रसाद खनाल, रजिस्ट्रार प्रा.डा. मोहन चन्द्र रेग्मी, अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साह साथमा इमरजेन्सी तथा फेमली मेडिसिन विभागका प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्लको उपस्थिति रहेको थियो ।

नयाँ ब्लकमा २१ वटा बेडको क्षमता रहेको प्रा. डा. मल्लले जानकारी गराए । “कोभिडको दोस्रो लहरका बिच हामीले २१ बेड क्षमताको इमरजेन्सी नयाँ ब्लक सुरु गरेका छौ जसमा दुई वटा बेडको छुट्टै आइसोलेसन रुम समेत रहेको छ ।

” डाक्टर मल्लले भने, “हामीले मल्टि डिसिप्लिनरी अप्रोच अन्तर्गत इमरजेन्सीमा भर्ना भएका विभिन्न प्रकृतिका बिरामीहरूलाई ट्राएज (एटिएस) गरी बिरामीको स्वास्थ्य स्थितिको आधारमा उपचार गरिन्छ । यस उपचार पद्धति अनुसार बिरामीहरूलाई आकस्मिक कक्षमा कार्यरत चिकित्सक लगायत सम्बन्धित विभागका विशेषज्ञ सहित रोगको गंभिर्यतालाई मध्यनजर गरी राय, सुझाव र उपचार पद्धति बारे छलफल गरिन्छ ।

त्यस पश्चात् बिरामीलाई सम्बन्धित वार्ड, आई.सी.यु. मा भर्ना गर्ने वा सामान्य उपचार र अवलोकन गरी डिस्चार्ज गर्ने निर्णय गरिन्छ ।” यसरी उपचार गर्दा होल्डमा राख्नुपर्ने बिरामीहरूका सहजता लागी नयाँ ब्लकको थालनी भएको उनले बताए ।

नयाँ ब्लकको लागी आवश्यक जनशक्ति समेत तयार भइसकेको प्रा.डा. मल्लले बताए । नयाँ ब्लकको विस्तार सँगै इमरजेन्सीमा फिक्स्ड बेड, एक्जामिनेसन टेवल र ट्रली गरी जम्मा १ सय ७ वटा बेडको क्षमता भएको छ ।
कार्यक्रममा बोल्दै उपकुलपति गिरीले प्रतिष्ठानको इमरजेन्सी विभागलाई पहिलो प्राथमिकतामा राखेर कार्यहरू अगाडी बढाएको बताएका थिए । “इमरजेन्सी भनेको कुनै पनि अस्पतालको मुहार हो ।

इमरजेन्सीमा तत्काल उपचार पाउनुपर्ने बिरामीहरू आउने गर्छन् । यसलाई मध्यनजर गर्दै हामीले प्रतिष्ठानको इमरजेन्सी विभागलाई पहिलो प्राथमिकतामा राखेका छौ ।” उनले भने, “इमरजेन्सीमा कुनै पनि समस्या आएमा तुरुन्त समस्याको समाधानका लागी कार्यहरू अगाडी बढाइनेछ ।

” कोरोना महामारीको दोस्रो लहरले भयावह स्थिति ल्याउन सक्ने बताउँदै त्यसको लडाइँका लागी समेत कार्ययोजना तयार भइसकेको उपकुलपति गिरीले जानकारी गराए ।