झापा : झापाको दमकमा रहेको मेची सहकारी संस्थाले सदस्यहरुकालागी एकीकृत सहकारी वस्ति निर्माण सुरु गरेको छ।

दमक-४ मा १ बिगाहा १६ कट्ठा जमिनमा ५२ ओटा घरको सहकारी वस्ति निर्माण सुरु भएको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।

५२ ओटा घरको निर्माणकालागी १७ करोड भन्दा बढी रकम लाग्ने देखिएको छ । संस्थामा आयोजित पत्रकार भेटघाटमा जानकारी गराए अनुसार संस्थाले आफै जमिन खरिद गरेर घर नभएका सदस्यलाई लक्षित गरि एकीकृत वस्ति निर्माण सुरु गरेको हो।

प्रत्येक घरको लागत ३३ लाख रुपैयाँ रहने संस्थाका उपाध्यक्ष पदम थापाले जानकारी दिएका छन् । तर जमिनको क्षेत्रफलका आधारमा कुल लागत भने प्रति घर फरक फरक पर्न सक्ने उनको भनाई छ।

सहकारी वस्तिका घरको मूल्य करिब ३३ लाख पर्ने र ८ देखि १२ धुर सम्मका घडेरी सहितको मूल्य ४३ देखि ५१ लाख रुपैयाँ पर्ने संस्थाका प्रबन्धक खोमप्रसाद बगालेले जानकारी दिए। तर सदस्यहरूले सोही जमिनको धितोको आधारमा सहुलियत ऋण पाउने र २० वर्षको भुक्तानी अवधि उपलब्ध गराइने उनको भनाई छ।

सहकारी वस्तिमा घर निर्माणका लागि ८२ जना शेयर सदस्यले आवेदन दिएका छन् । तर ती मध्ये आवेदक सदस्यको आवश्यकताका आधारमा घर पाउने सदस्य छनौट गरिने संस्थाका सचिव राजेन्द्र दाहालको भनाई छ। बस्तीका घर ओगट्ने र त्यसलाई व्यापारको माध्यम बनाउन नदिन संस्था सजग रहेको पनि उनले बताएका छन्।

संस्थाले घर नभएका सदस्यलाई अनुदानमा उपलब्ध गराउन नभई सहुलियतका लागि एकीकृत वस्ति बनाउन थालेको जनाएको छ।

२ वर्ष अघि ४ करोड १७ लाखमा खरिद गरिएको जग्गा हाल खरिद गरेकै समयको मूल्यका आधारमा उपलब्ध गराइने र एकै पटक धेरै घर बनाउँदा लागत पनि कम हुने भएकाले सदस्यले सहुलियत महसुस गर्ने सहकारी वस्ति निर्माण समितिका संयोजक डिल्लीप्रसाद न्यौपानेले बताएका छन् ।

८ हजार शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी हाल करिब २९ करोड रुपैयाँ रहेको रहेको छ। दमकमा मुख्य कार्यालय रहेको संस्थाले हाल कमल गाउँपालिकाको मङ्गलवारे, मोरङको उर्लाबारी, पथरी र मधुमल्ला तथा इलामको चुलाचुली सेवा केन्द्रबाट सेवा दिँदै आएको छ।

बिर्तामोड सेवा केन्द्र पनि सञ्चालनको अन्तिम अवस्थामा पुगेको संस्थाले जनाएको छ। यस्तै झापाको गौरादह, शिवसताक्षी, कनकाई र मोरङको रतुवामाईमा सेवा केन्द्र विस्तारका लागि अनुमति पाई सकेकाले यसै वर्ष भित्र सेवा विस्तार गरिने जनाइएको छ ।