धरान : धरानमा पछिल्लो समय विभिन्न अफवाहले उपभोक्ताले 'ओभर स्टक' गर्दा पेट्रोल अभाव भएको पाईएको छ ।

केही दिन अघि धरानका पेट्रोल पम्पहरूमा अनलाइन विलिङ गर्ने क्रममा एक दिन पेट्रोल आउन ढिलाइ भएको थियो ।

यसले धरानमा पेट्रोल अभाव सिर्जना भएको नेपाल पेट्रोलियम डिलर एसोसिएसनका केन्द्रीय सदस्य गोपाल श्रेष्ठले बताए । उनका अनुसार आज धरानमा ७२ हजार लिटर पेट्रोल आउदैछ ।

भोलि देखि धरानमा सहजरुपमा पेट्रोल उपलब्ध हुने श्रेष्ठले बताए । उनले भने, उपभोक्ताले बढी पेट्रोल स्टक गरेकोले दुई चार दिन पेट्रोल नै बिक्री नहुने सम्भावना बढेको छ ।

लकडाउनको हल्ला र कोरोनाका कारण पेट्रोल आयत नभएको भन्दै उपभोक्ताले चाहिने भन्दा बढी स्टक गरेको कारण धरानमा पेट्रोल अभाव सिर्जना भएको धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए ।

धरानमा दैनिक औसत ३० हजार लिटर पेट्रोल खपत हुने गरेको छ। अधिकृत सापकोटाले धरानमा पेट्रोल अभाव नभएको बताउँदै आम नगरवासीमा पेट्रोल अभाव भएको अफवाह फैलिनु र ओभर स्टक गरिनुको कारण समस्या सिर्जना भएको बताए ।

पेट्रोल पम्पमा मानिसहरूको भिडका कारण कोरोना सङ्क्रमण बढ्ने खतरा समेत बढेको छ । उनले त्यसरी पेट्रोल पम्पमा भिडभाड नगर्न पनि आम नगरवासीलाई आग्रह गरिएको छ ।

अनुगमन अधिकृत सापकोटाका अनुसार धरानमा अहिले दैनिक ५० हजार लिटर पेट्रोल आयात भइरहेको छ । आज मात्रै धरानमा ७२ हजार लिटर पेट्रोल आयात भएको अधिकृत सापकोटाले जानकारी दिए ।

Petrol-pomp-Banda