धरान : मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

आज दिउसो ११ बजे केराबारी ८ स्थित जङ्गलमा को १ त ५८४९ नम्बरको ट्याक्टरले को३४ प ९०६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही स्थानका ५० वर्षीय नरेश कुमार सोडारी गम्भीर घाइते भएका थिए ।

उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो पौने १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र चालक केराबारी १० का २१ वर्षीय उमेश मल्लिक प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

त्यस्तै आज दिउसो साढे १ बजे मोरङकै सुन्दरहरैचा १० स्थित खोर्साने–केराबारी सडक खण्डको जङ्गलमा दक्षिण आउँदै गरेको को १ ख ६५४७ नम्बरको टिपरले विपरीत दिशाबाट आएको स ३ प ६३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बेलबारी ९ डागिहाट का २६ वर्षीय सुरेश कुमार चौधरीको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे २ बजे मृत्यु भएको छ ।

मोटरसाइकल पछाडि सवार झापा धरमपुर घर भई बेलबारी ११ लक्ष्मीमार्ग का ३४ वर्षीय रुपेश अधिकारी घाइते भई सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

टिपर र चालक उर्लाबारी ७ बस्ने ४८ वर्षीय बिर्ख बहादुर धिमाल प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।