धरान : प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको संयोजनमा लकडाउनले मिडिया क्षेत्रमा पारेको असर र पत्रकार आचारसंहिता पालना विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको।

इटहरीको युवा विकास केन्द्रको भवनमा शुक्रवार सम्पन्न भएको अन्तरक्रियामामा सञ्चारकर्मी र सञ्चार माध्यमको अवस्थाको बारेका छलफल भएको थियो भने छलफलमा विभिन्न माध्यमका पत्रकारहरूले तलब भत्ता नपाएको, महासङ्घले नै पत्रकारका उजुरी नसुनेको, लकडाउन पछि जनशक्ति कटौती गर्दा जागिर गुमाएको, सरकारी निकायबाट सहयोग नभएको र कोरोनाको महामारीमा स्वास्थ्य मापदण्डका सामान नपाएको गुनासो गरेका थिए।

काउन्सिल नेपाल बोर्डका सदस्य दीपक पाण्डे र ठाकुर बेल्वासेले सबैका समस्या सुनेर मिडिया सञ्चालकहरू सँग कुरा गरी चाँडै समस्या समाधानकालागी पहल गरिने बताए ।

पाण्डेले दोस्रो चरणको लकडाउनमा पत्रकारहरूलाई बिमा र स्वास्थ्य सुरक्षाका सामानहरू सहज रूपमा उपलब्ध गराउन लागी पहल गर्ने बताउँदै प्रदेशमा वा जिल्लामा आचार संहिता पालना अनुगमन गर्नका लागी समेत जिल्ला जिल्लामा एक जना कर्मचारी राख्न पहल गर्ने बताएका छन् ।

उनले पत्रकारहरूलाई कुनै समस्या भएमा काउन्सिलमा सम्पर्क गर्न आग्रह गरेका थिए। महामारीबाट अन्य क्षेत्र भन्दा तुलनात्मक दृष्टिकोणले सञ्चार क्षेत्र बढी प्रभावित भएको भन्दै प्रेस काउन्सिलको ५ जनाको टोली प्रदेश नं १ का ३ जिल्लाको स्थलगत रूपमा समस्या बुझ्न आएको सदस्य पाण्डेले बताए ।

टोलीले धरानका केही छापाखानासमेत अनुगमन गरेको थियो । लकडाउन पछि आर्थिक समस्याका कारण औजार दैनिक र मर्निङ् टाईम्म पत्रिकाको नियमित प्रकाशन बन्द भएको छ ।