इटहरी : कुनै समय पानीको मुख्य श्रोत मानिने इटहरी-४ को चौधरी पोखरी पछिल्लो समय साँघुरीदै गएको छ। छेउछाउमा कंकृटका संरचना बनेपछि पोखरीमा पानी समेत सुक्न थालेको छ। सडक तथा भवनको नाममा जग्गा मिचिँदा पोखरी नै मासिने खतरा बढ्दै गएको छ ।

चौधरी पोखरी जस्तै इटहरीका सय बढी पोखरीको अस्तित्व समाप्त भइसकेको छ। पैनी र खोलाको हालत पनि त्यस्तै बन्दै गएको छ । इटहरी बिच बजार भएर बग्ने टेङ्ग्रा खोला साघुरीदै गएको छ । पार्क तथा भवन निर्माणको बहानामा खोला साँघुरीन थालेको हो 

हालसालै इटहरी-९ सप्तकोसी एफएम उत्तर पट्टी खोलाको धार परिवर्तन गरी नयाँ संरचना बनिरहेको छ । खोलाको बिचबाटै चर उठाएर संरचना निर्माणाधिन अवस्थामा छ।

त्यस्तै इटहरीको मुख्य चोकबाट पश्चिम पट्टी बिच बजार भएर बग्ने खेती खोला पनि हराउँदै गएको छ । खोलाको दुवैतर्फ जाली लगाएर भवन बनिसकेका छन्। भर्खरै मात्र खोला भित्रबाट जाली लगाएर नयाँ बाटो कायम गरिएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पछाडि नयाँ भवनको तयारी भइरहेको छ। खोलाको धार जथाभाबी परिवर्तन गरेर भवन बन्न लागेको हो ।

नेकपा एमाले इटहरीको पार्टी कार्यालय पैनीको जग्गा मिचेर निर्माण

यस अघि नै नेकपा एमाले इटहरीको पार्टी कार्यालयले पैनीको जग्गा मिचेर निर्माण भएको छ। इटहरी-४ मा रहेको हाम्रो बोर्डिङ स्कुलले खेती खोलाको जग्गा मिचेको छ । ५५ देखी ७६ फिट सम्म लामो खोलाको जग्गा खुम्चिएर २५ फिट भन्दा सानो भएको छ । खोलामा बोर्डिङको प्रशासनिक भवन अवस्थित छ।

इटहरी-५ स्थित सिमरबना सहकारी संस्थाको भवन पनि पैनीकै जग्गा अतिक्रमण गरेर बनेको छ । इटहरी ८ मा रहेको नमुना कलेजले पनि टेङ्ग्रा खोला अतिक्रमण गरेको छ ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको समेत ध्यान आकर्षण भएको थियो । २०७५ फाल्गुन ०६ पत्र नै पठाएर आयोगले सार्वजनिक जग्गा मिच्ने बोर्डिङ स्कुलको स्केच सहित उत्तर पठाउन भनेको थियो । अहिलेसम्म कुनै पनि कारबाही प्रक्रिया अगाडी बढ्न सकेको छैन ।

सङ्घीय सरकारले स्थानीय सरकारलाई खोला देखी ३० मिटर असपासको क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाइने व्यवस्था गर्न निर्देशन दिइसकेको छ । यता इटहरीको बिच बजार भएर बग्ने खोलाहरू कुलेसोको रूपमा परिणत हुने खतरा बढिरहेको छ ।

हरेक वर्ष डुबानको समस्या भोग्दै आएको इटहरीले खोला मिच्ने प्रक्रिया रोक्न सकेको छैन । खोला तथा पैनी मिचेर भवन निर्माण भएपछि बर्खाको भेला बजार पस्ने गरेको छ ।

इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले सार्वजनिक जग्गा मिच्ने जो कसैलाई पनि नछाड्ने भन्दै घर खाली गर्ने पत्र पठाएको दुई वर्ष पुरा हुनै लाग्यो । पहिला धेरैलाई घर वा संरचना खाली गर्ने समय दिइएको र अब कुनै पनि हालतमा नछाड्ने उनले उद्घोष गरेका उनी अहिले मौन समर्थनकै हिसाबमा देखिन्छन् ।

itahari-khola-painai