धरान : धरान उपमहानगरपालिकाले कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न विभिन्न निर्णयहरू गरेको छ।

नगर प्रमुख तिलक राईको अध्यक्षतामा सरोकारवालासँग आज शनिबार बसेको बैठकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न विभिन्न निर्णयहरू गरिएको हो।

बैठकमा बजारमा उपलब्ध विभिन्न ब्राण्डका ह्याण्ड सेनिटाइजरहरुको गुणस्तर परीक्षण गर्नका लागि सुनसरी उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी र स्वास्थ्य महाशाखासहितको टोलीले नमुना सङ्कलन गरी केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसार पठाउने निर्णय गरेको छ।

यस्तै अस्पतालमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शवलाई ब्याग र्यापिङ्ग गरी सम्बन्धित पक्षलाई जिम्मा लगाउने व्यवस्था मिलाउन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अनुरोध गर्ने साथै घरमै (होम आइसोलेसन) मृत्यु भएका सङ्क्रमितको हकमा नेपाल सरकारको निर्देशन बमोजिम स्वास्थ्य मापदण्ड अपनाई इलाका प्रहरी कार्यालय धरान र धरान उपमहानगरपालिकासँग समन्वय गरी शव व्यवस्थापन गर्ने निर्णय भएको छ।

यस्तै डेड बडी र्यापिङ ब्याग आवश्यक मात्रामा नेपाल रेडक्रस, सुनसरीसँग उपलब्ध गराउन अनुरोध गर्ने र मास्कको अनिवार्य रूपमा प्रयोग गर्न/गराउनका लागि सुनसरी उद्योग वाणिज्य सङ्घको नेतृत्वमा नगर प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउटसँग समन्वय गरी उपमहानगर क्षेत्रभित्र व्यापक रूपमा सचेतना गर्ने/गराउने निर्णय पनि भएको छ ।

केहिदिन अगाडी बिपी प्रतिष्ठानमा मृत्यु भएका सङ्क्रमितको शव अस्पतालले परिवारको जिम्मा लगाएको थियो । परिवारले शवलाई चतरास्थित कोसी किनारमा लगेर अन्त्येष्टि गरेका थिए भने शव अन्येष्टीमा प्रोटोकल उल्लङ्घन गरी ५० भन्दा बढी मलामी सहभागी भएका थिए

कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न क्वारेनटाइन तथा आईसोलेशनको व्यवस्थापन सम्बन्धमा थप निर्णय गर्न अर्को बैठकमा प्रस्ताव गरिने साथै कोभिड-१९ बाट सङ्क्रमित व्यक्तिको मृत्यु भएमा जिल्ला प्रशासन कार्यालय सुनसरीले उपलब्ध गराएको शव वाहनलाई प्रयोग गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा नेपाल उद्योग वाणिज्य सङ्घ सुनसरीको अध्यक्ष गिरिधारी सापकोटा, इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज वली, वातावरण महाशाखा प्रमुख भेषराज घिमिरे, सुनसरी उद्योग वाणिज्य सङ्घका राजेश अग्रवाल, नेपाल रेडक्रस सोसाइटी सुनसरीका श्याम पोख्रेल, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, नेपाल रेडक्रस सोसाइटी सुनसरीका किरण कार्की, नगर प्रहरी प्रमुख विष्णु कोईराला, प्रशासन महाशाखा प्रमुख गणेश खतिवडा, व.क.नि. रामबाबु यादव लगायतको उपस्थिति रहेको थियो ।