धरान : खोटाङ हलेसी तुवाचुङ नगरपालिका-१ कदुवा स्थित मध्यपहाडी लोकमार्गमा आज शनिबार बिहान ११ बजे हलेसी दर्शन गरी सप्तरी फर्कदैं गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन ।

चालक सहित ३९ जना यात्री बोकेको बस सडकबाट १५ मिटर तल तल्लो सडकमा खसेको थियो। दुर्घटनामा २२ जना घाइते भएका छन भने घाइते मध्ये १६ जना सामान्य घाइते भएका छन्।

बा ३ ख ९२८५ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल्लो सडकमा खसेर दुर्घटना हुँदा सो बसका सह-चालक सिन्धुली घ्याङलेक गाउँपालिका-१ का २५ वर्षीय अनिल तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना भएको जानकारी पाए लगतै प्रहरी चौकी च्यास्मिटर, इलाका प्रहरी कार्यालय हलेसी र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा प्रहरी टोली खटी गई घाइतेहरूलाई उपचारको लागी पठाइएको छ ।

उक्त दुर्घटनामा अवरुद्ध भएको सडक दिउसो सँवा २ बजे लगाएर दुर्घटना भएको बसलाई साइड लगाएर बाटो सुचारु गराएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।