धरान : धरान उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई पुर्जा वितरणका लागि भोलि (आइतबार) देखि फारम वितरण तथा लगत सङ्कलन कार्य सुरु गर्ने भएको छ।

धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको संयोजकत्वमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन प्रमाणीकरण गर्ने उद्देश्यले गठित भूमि सम्बन्धी समस्या समाधान स्थानीय सहजीकरणको आज बसेको दोस्रो बैठकले भोलि देखि फारम वितरण गरिने जानकारी गराएको हो।

आइतबार बिहान ८ बजे धरान वडा नं. १५ बाट फारम वितरण गर्न सुरु गरिने धरान उपमहानगरपालिकाले जनाएको छ । लगत संलकन इकाईका संयोजक वेद सापकोटाका अनुसार आइतबारदेखि धरानको २० वटै वडा कार्यालय मार्फत फारम वितरण र फारम भराउने कार्य सुरु गरिने छ ।

लगत सङ्कलनका लागि ३६ जना कर्मचारी तयारी अवस्थामा रहेको उहाँले जानकारी दिए। भूमि आयोगमार्फत हाल धरानमा लगत सङ्कलनको लागि १४ हजार ५ सय फारम आइपुगेको छ। लगत सङ्कलन भएपछि कम्प्युटरमा इन्ट्री गरिने र त्यसपछि जग्गाको नापजाँच लगायत कार्य सुरु हुने सापकोटाको भनाई छ। सरकारले भुमिहिन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबास भएकाहरूलाई पुर्जा उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ।

सहजीकरण समितिमा नगर प्रमुख तिलक संयोजक, उपप्रमुख मञ्जु भण्डारी उपसंयोजक, प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनाल सदस्य सचिव छन् । 

राजनीतिक दलको तर्फबाट सदस्यहरूमा नेकपा एमालेका राजमणि निरौला, नेकपा एमालेका प्रतिनिधि हर्कजङ एभेङ, माओवादी केन्द्रका प्रतिनिधि सुदर्शन श्रेष्ठ, नेपाली काँग्रेसका प्रतिनिधि नरसिंह राई, जनता समाजवादी पार्टीका प्रतिनिधि ताजुब लिम्बु, कार्यपालिका सदस्य हिरादेवी राई, कार्यपालिका सदस्य कल्पना थापा मगर, नेपाल बसोबास बस्ती संरक्षण समाज धरानका सचिव सुवास राई र पञ्चकला राई सदस्य रहेका छन् ।