इटहरी : इटहरी-१९ का कमल तामाङ ४ वर्षदेखि सफारी चलाएर परिवार पाल्दै आएका छन् । आम्दानीको मुख्य श्रोत नै सिटी सफारी भएका उनी पुनः लकडाउन हुने हल्लाले त्रसित छन् ।

अघिल्लो बर्षपनि छाक टार्नै गाह्रो भएपछि उनी सडकमा निस्किएका थिए । यस पटक लकडाउन भएमा पहिलाको भन्दा समस्या हुने उनले सुनाए ।

कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै सफारी नचलाउन प्रहरीले निर्देशन दिएका बेला उनले सफारी चलाएका थिए । बैङ्कको किस्ता देखी छोराछोरीको भाकले धेरै समस्या पार्ने गरेको उनको भनाई छ ।

केही महिना सहकारीमा जम्मा गरेको पैसाले काम चलाएका तामाङ यस पटक भने बचत समेत नभएको बताउँछन् । “ऋण तिर्दै यतिका महिना बित्यो । बचत गर्ने समय नै पुगेन ।,” उनले भने, “अब पनि लकडाउन भयो भने निक्कै गाह्रो हुन्छ । जे गरे पनि लकडाउन चाहिँ नगर्नु नि ।”

इटहरी-९ का रमेश नेपाली पनि नियमित सफारी चलाउँछन् । परिवारको मुख्य आम्दानीनै एउटा सफारी भएको उनले बताए । “५ जनाको परिवार पाल्न मुस्किल परेको बेला फेरी लकडाउन भयो भने म त मर्छु यार ।,” उनले भने, “सरकारमा हुनेलाई सजिलो छ हामी मजदुरलाई कम्ता गाह्रो छ ।”

सेनेरिटी युनीसेक्स सैलुनका सञ्चालक उत्तम पौडेल पनि लकडाउनको त्रासमा छन् । सैलुन नखोले पनि भाडा तिर्नुपरेको सुनाउँदै उनले अब लकडाउन भए अवज्ञा गरिने बताए । स्वास्थ्य सतर्कता अपनाएर व्यापार पसल खुल्ला गरिनुपर्ने उनको बुझाई छ ।

रञ्जन सैलुनका सञ्चालक रञ्जन ठाकुर पनि बिना कमाइ मासिक २५ हजार भाडा तिर्ने अवस्था नआओस् भन्दै कामना गरिरहेका छन् । लकडाउनको कारण थलिएको व्यवसाय भर्खर पुरानै अवस्थामा आउन थालेको सुनाउँदै उनले अब लकडाउन भयो भने थला परिने बताउँछन् ।

अघिल्लो पटक सैलुन बन्द गर्ने सरकारको निर्णय विरुद्ध इटहरीमा नाइँ सङ्घले आन्दोलन नै गरेको थियो । सैलुनबाट धेरै सङ्क्रमण फैलिने भन्दै सरकारले सैलुनलाई अनिवार्य बन्द गर्न निर्देशन दिएको थियो ।

itahai-sailon