इटहरी : कोभिड-१९ (कोरोना भाइरस) को नयाँ भेरीयन्ट देखिएसँगै मृत्युदरमा वृद्धि भइरहेको छ। पहिला भन्दा कडा रूपमा देखा परेको कोरोना नियन्त्रण तथा उपचारमा इटहरी उपमहानगरपालिकाले कुनै पनि तयारी गरेको छैन । कोरोना फैलने क्रम जारी रहेको बेला कुनै पनि नयाँ तयारी सुरु हुन नसकेको हो ।

अघिल्लो पटक तयार पारिएका क्वारेन्टीन सुचारु गर्न सक्ने अवस्थामा छैनन्। इटहरी-५ मा रहेको जनता बहुमुखी क्याम्पसमा सञ्चालित २ यस बेडको क्वारेन्टीन अहिले सञ्चालन आउन नसक्ने अवस्थामा छ। लामो समय देखी कलेज सञ्चालनमा भइरहेकोले पुनः क्वारेन्टीन बनाउन असम्भव भएको हो ।

त्यस्तै इटहरी रङ्गशालामा सञ्चालन भएको ६३ बेडको क्वारेन्टीनका बेडहरू पनि अहिले निकालिएका छन्। तातोपानी तताउने जार देखी सुत्ने म्याट सम्म व्यवस्थापन गर्नुपर्ने देखिएको छ । विभिन्न राजनैतिक दल, व्यापारी, तथा सङ्घसंस्थाको सहयोगमा निक्कै सहज देखिएको अघिल्लो लकडाउन अब धेरै चुनौतीपूर्ण हुने देखिएको छ।

नेपाल सरकारले लकडाउन लगायत व्यवस्थापनको कामको लागी स्थानीय जिम्मेवार हुने सङ्केत देखाएको छ । लकडाउन गरे राहत बाँड्नुपर्ने बाध्यताका बिच स्थानीय सरकार लकडाउन गर्ने सोचमा छर्नै । तर पछिल्लो समय बढ्दै गएको सङ्क्रमणले भयानक अवस्था सृजना गर्ने त्रास उत्पन्न हुन थालेको छ ।

इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख घनश्याम सिग्देलका अनुसार हालसम्म ५० जना सङ्क्रमित देखिएका छन्। त्यसमध्ये अधिकांश होम आइसोलेसनमै रहेको उनले बताए । बाँकी अवस्था हेरी उपचाररत रहेको उनको भनाई छ।

नयाँ भेरीयन्टको बारेमा माइकिङ गरेर सचेतना जगाउने काम भइरहेको भन्दै केही दिनमै छलफल गरिने बताए । के गर्ने र कसरी गर्ने भन्नेबारे मेयर र उपमेयर सँग छलफल बाँकी नै रहेको उनको भनाई छ । अहिलेसम्म यसै गर्ने भन्ने ठोस निर्णय भई नसकेको उनले जानकारी दिए।