धरान : पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको इञ्जिनीयरिङ सङ्काय स्नातक दोस्रो सेमिस्टरको भौतिक शास्त्र विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको आरोपमा मोरङ प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

प्रश्नपत्र ‘आउट’ गरेको आरोपमा परीक्षा नियन्त्रण कार्यालयका विज्ञान तथा प्रविधि शाखाका कर्मचारी र विद्यार्थीसहित १० जनालाई पक्राउ गरेको हो । शनिबार राती पक्राउ परेका १० जनालाई नै आज मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

प्रहरीले प्रश्नपत्र आउट गरेको आरोपमा पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारी विराटनगर ८ का ४४ वर्षीय कोमलप्रसाद गौतम, विद्यार्थीहरू संखुवासभाको मादी नगरपालिका ६ का ३५ वर्षीय गोपाल कार्की, रुपन्देहीको तिलोचन नगरपालिका १२ का ३० वर्षीय विजय पोखरेल, गोर्खाको भीमसेन थापा गाउँपालिका १ का ३२ वर्षीय मिनप्रसाद भट्ट, गण्डागी गाउँपालिका ३ का ३१ वर्षीय भरत पन्त, सोही गाउँपालिका २६ वर्षीय विकास खड्का, सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ४ का २९ वर्षीय नानीपथ मण्डल, सप्तरी बोदेवरसाइन नगरपालिका ७ का २९ वर्षीय जीवनकुमार यादव र सप्तरीको अग्नीसायर कृष्णसवरण गाउँपालिका ५ घर भई भक्तपुर लोकन्थली बस्दै आएका २६ वर्षीय महेश यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

यादवलाई पक्राउ गरेपछि प्रश्नपत्र आउट गर्नेको सञ्जाल बाहिर आयो । पक्राउ परेका मध्ये कार्की विद्यार्थी नेता हुन् । कार्कीले पक्राउ परेका इञ्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थी विजय पोखरेलसँग ८० हजार रुपैयाँ लिएपछि आउट भएको प्रश्नपत्र बिक्री गरेका थिए । त्यसपछि विजयले अन्य पक्राउ परेका विद्यार्थीहरूसँग १० देखि २० हजार रुपैयाँ लिएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुल्न आएको एसपी सन्तोष खड्काले बताए ।

परीक्षा हुनुभन्दा एक दिन अगाडि ‘फिजिक्स’ विषयको प्रश्नपत्र ‘आउट’ भएको प्रहरीको अनुसन्धानदेखि खुलेको छ । पक्राउ परेका कोमलप्रसाद कार्यालय सहायक कर्मचारी हुन् । प्रश्नपत्र कार्कीले पाएपछि अन्य विद्यार्थीहरूलाई सामाजिक सञ्जालको माध्यम देखि प्रश्नपत्र पठाएको देखिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयले हरेक प्राविधिक विषयको प्रश्नपत्र कर्मचारीको मिलेमतोमा परीक्षा पहिला नै शृङ्खलाबद्ध रूपमा बाहिरिँदै आएको  खुलेको छ । भने  मोरङ प्रहरीले उक्त घटनाको अनुसन्धानका लागि मोरङ प्रहरीका इन्स्पेक्टर पप्पु नायककोे संयोजकमा छुट्टै टिम गठन गरि अनुसन्धान सुरु गरेको छ ।