धरान : धरानमा भूमिहीन दलित, भूमिहीन सुकम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गर्न फारम वितरण कार्य सुरु भएको छ । 

आज बिहान धरान उपमहानगरका नगर प्रमुख तिलक राईले धरानको १५ नं. वडा कार्यालयबाट फारम वितरण कार्य सुरु गरेका छन् । सहजीकरण समितिका संयोजक समेत रहेका नगर प्रमुख राईसहितको टोलीले धरानको १३, १६, ११, १७, ४, ५ र ८ नं. वडा कार्यालयमा पुगेर फारम वितरण गरेको हो ।

यी वडाहरूमा धरानको सबैभन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकम्बासी तथा अव्यवस्थित बसोबासीको बसोबास रहेको छ । बाँकी रहेका वडाहरूमा सम्बन्धित वडाका वडाध्यक्षहरूलाई आज धरान उपमहानगरपालिकामा बसेको कार्यपालिकाको बैठकमा नगर प्रमुख राईले फारम वितरण गरेका छन् ।

लगत सङ्कलन इकाईका संयोजक वेदप्रसाद सापकोटाले भूमि आयोगले उपलब्ध गराएको फारम धरान उपमहानगरपालिकाले वडाहरूमा वितरण गरेको जानकारी दिए । उनका अनुसार वडा नं. १ मा ३० वटा, २ मा २५ वटा, ३ मा ९२ वटा, ४ मा १५० वटा, ५ मा १६९० वटा, ६ मा ५६५ वटा, ७ मा ३० वटा, ८ मा ३६५ वटा, ९ मा १० वटा, १० मा ३३ वटा, ११ मा १४५६ वटा, १२ मा २५ वटा, १३ मा ५६५ वटा, १४ मा १५० वटा, १५ मा ११०७ वटा, १६ मा ४६३ वटा, १७ मा १२११ वटा, १८ मा २५ वटा, १९ मा १०६ वटा, २० मा १८७ वटा फारम वितरण गरिएको छ ।

आयोगले धरानको लागि १४ हजार ५ सय फारम उपलब्ध गराएको थियो । फारम पाए पनि वडा नं. १५ र १३ ले मात्र फारम भर्न सुरुवात गरेको सापकोटाको भनाई छ । अन्य वडाहरूले आवश्यक तयारी गरेर सम्भवतः भोलि सोमबारदेखि फारम भर्न थाल्ने बताइएको छ ।

भूमि सम्बन्धी समस्या समाधान गर्न नगर प्रमुख तिलक राईको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको छ । उक्त समितिले कहीँ कतै समस्या आएमा समाधान गर्न सहजीकरण गर्नेछ । यस्तै, वडा स्तरमा पनि सहजीकरण समिति गठन गरिएको छ । 

नगर प्रमुख राईले वडाहरूमा फारम वितरण गर्दै रातो फारम देशभरि आफ्नो परिवारको नाममा एक टुक्रा पनि जग्गा नहुनेले भर्नुपर्ने जानकारी दिए । यस्तै, सेतो फारम आफ्नो नाम वा परिवारको नाममा कहीँ जग्गा भए पनि ऐलानी जग्गामा बसिरहेको वा घेरा बार गरेर बसिरहेकाहरूले भर्ने फारम भएको उनले बताए ।

‘रातो फारम भर्नेले एक पटक निःशुल्क जग्गा पाउनेछन् । सेतो फारम भर्नेले सरकारले तोकेको न्यूनतम शुल्कमा राजश्व तिरेर लिनुपर्ने हुन्छ । कति जग्गा पाउने भन्ने यसको विधि छ,’ मेयर राईले भने । नगर प्रमुख राईले वास्तविक सुकुम्वासी, वास्तविक भूमिहीन र वास्तविक अव्यवस्थितलाई मात्र फारम भराउन आग्रह गरेका छन् ।

फारममा वडाध्यक्ष र सम्बन्धित टोलका वडा सदस्यले, वडा सचिवले हस्ताक्षर गर्नुपर्ने भएकोले आफ्नो टोल र वडामा फारम भर्नेहरूलाई राम्रोसँग हेर्न समेत नगर प्रमुख राईले आग्रह गरेका छन् । ‘वडा सदस्यले, अध्यक्षले, सचिवले हस्ताक्षर गर्नुपर्छ ।

आफ्नो टोलको राम्रोसँग मान्छे हुनुपर्छ, जबाफदेही हुनुपर्छ,’ नगर प्रमुख राईले भने, ‘भोलि सरजिमिन मुचुल्का हुन्छ । नहुने मान्छे सिफारिस भयो भने कारबाही हुन्छ ।’ कर्मचारीहरूले पनि दिनभरिमा भरेको फारम घर लैजान नपाउने र साँझ भएपछि सम्बन्धित वडा कार्यालयमा बुझाउनुपर्ने बताइएको छ ।