विराटनगर : प्रदेश १ सरकारले नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवर्द्धनको विषयमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ ।

सामाजिक विकास मन्त्रालयले प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सामको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलको सदस्यहरूमा प्रदेश योजना आयोग सदस्य मिना भण्डारी, मुख्यमन्त्री शेरधन राईका आर्थिक सल्लाहकार महेन्द्रबहादुर गुरुङ, स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डिल्लीकुमार प्रसाईँ, प्रदेश कृषि निर्देशनालयका प्रमुख प्रकाश डाँगी, सामाजिक विकास मन्त्रालयका उपसचिव अम्बिकाप्रसाद चौलागाई, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलकुमार थापा, प्रदेश योजना आयोगका अधिकृत राकेश निरौला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वनस्पति अधिकृत राजेश तामाङ रहेका छन् ।

कार्यदलको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका कानुन अधिकृत निर्मल भट्टराई रहेका छन् ।कार्यदललाई सामाजिक विकास मन्त्री उषाकला राईले अघि बढाएको ‘ ब्यान्ड भर्सेस ब्रान्ड’ अवधारणा कार्यान्वयनका लागि सम्भाव्यता अध्ययनको जिम्मेवारी दिइएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

कार्यदलका सदस्यलाई कार्य जिम्मेवारी सहित ४५ दिन भित्रमा मन्त्रालयमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

Band-Vrs-Brand-1