धरान : धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा वैशाख १ गते देखि यता मात्रै १९ जना कोरोना सङ्क्रमित बिरामी भर्ना भएका छन् ।

अस्पताल भर्ना भएका अधिकांश बिरामी विगतको भन्दा अलि गम्भीर प्रकृतिका रहेको बताइएको छ । भर्ना भएका अधिकांश बिरामीलाई अक्सिजन अनिवार्य चाहिने अवस्थाको रहेको प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले बताए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र रहेको कोभिड १९ अस्पतालको बेड क्षमता १ सय रहेको छ । वैशाख १ गते देखि यता मात्रै अहिले सम्म १९ जना कोरोना सङ्क्रमित भर्ना भएका छन् ।

त्यस मध्ये पनि ७ जना सङ्क्रमितलाई आइसियुमा राखेर उपचार गरिँदै गरेको पनि डा. पोखरेलले जानकारी दिए । कोभिड अस्पतालको १५ वटा आइसियुमा अहिले ७ बेड भरिएको छ । यसै गरी बच्चाका लागि २ वटा पिआइसियुमा पनि दुई वटै बेड फुल भएको छ । २५ बेडको एचडियु बेडमा पनि ९ वटा बेड फुल भएको बताइएको छ ।

गत वर्षको तुलनामा यो वर्ष कोरोना सङ्क्रमित भएकाहरू अस्पताल आउँदा तुरुन्त अक्सिजन चाहिने र अलि गम्भीर प्रकृतिका रहेका छन् । यो वर्ष विगतको तुलनामा बालबालिका सङ्क्रमित पनि बढिरहेको र सोही अनुसार अस्पतालमा भर्ना भइरहेका छन् ।

यसरी यो पटक बालबालिकामा कोरोना सङ्क्रमण बढी हुनुको मुख्य कारण नयाँ भेरिएन्टको हुनु र विद्यालय बन्द नहुनुले हुन सक्ने सह प्रवक्ता डा. पोखरेलले बताए । गत वर्ष लकडाउन थियो । क्वारेनटाइन र आइसोलेसनहरू सरकारले विभिन्न स्थानमा तयारी राखेको थियो । तर यस पटक त्यस्तो तयारी नभएकोले यो पटक कोरोना सङ्क्रमणले जनजीवन भयावह बनाउन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन् ।

कोरोनाको दोस्रो लहर नयाँ भेरिएन्टको कोरोना छिटो सङ्क्रमण हुन सक्ने भएकोले सर्वसाधारण सबै आफै सजग र सचेत रहनुपर्ने अवस्था आएको स्वास्थ्य विज्ञहरूको भनाई छ ।