धरान : प्रदेशका नं १ का मुख्यमन्त्री शेरधन राईले दक्षिण एशियाकै पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका प्रथम अध्यक्ष मनमोहन अधिकारीले समृद्ध नेपाल निर्माणका लागि देखेका सपना आजको कम्युनिष्टको नेतृत्वले पूरा गर्नुपर्ने बताएका छन्।

मनमोहन अधिकारीको २३ औं स्मृति दिवसमा धरान-१५ स्थित श्यामचोकमा आज आयोजित कार्यक्रमा अधिकारीको शालिकमा माल्यार्पण गरी स्मृति दिवसको कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले अधिकारीले देखाएको समाजवादको बाटोमा हिंड्नु पर्ने आवश्यक्ता औंल्याउँदै अधिकारीले समृद्ध नेपाल निर्माणका लागि देखेका सपना आजको कम्युनिष्टको नेतृत्वले पूरा गर्नुपर्ने अभिभारा रहेको बताएका हुन्।

मुख्यमन्त्री राईले वर्तमान कम्युनिष्ट पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मनमोहनको सपना साकार गर्न उनको उत्तराधिकारीका रुपमा 'समृद्ध नेपाली सुखी नेपाली'को चाहाना राखेर देश निर्माणमा अघि बढेको समेत तर्क गरे । अधिकारी विकास निमार्णका लागी ’आफ्नो गाउँ आफैं बनाऔ' भन्ने नाराले तय गरेको सामाजिक सुरक्षा भत्ता, विकास निमार्ण लगायतका कार्यक्रमलाई जनमुखी र प्रभावकारी बनाउन प्रधानमन्त्री र सिङगो कम्युनिष्टको नेतृत्व नै लागि परेको मुख्यमन्त्री राईको भनाई थियो ।

एमालेले नेतृत्वको सरकारले १ सय रुपैयाँबाट शुरु गरेको जेष्ठ नागरिक भत्ता अहिले ३ हजार पुगेको छ र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ वर्षभित्र उक्त भक्ता बढाएर ५ हजार पुर्याउने घोषणा गरेका छन् ।

मनमोहन प्रधानमन्त्री र उनका भाइ भरतमोहन अर्थमन्त्री भएको बेला शुरु गरिएको जेष्ठ नागरिक भत्ता लगायतका सामाजिक सुरक्षा र लोककल्याणकारी कार्यक्रम कुनै पनि सरकारले हटाउन नसकेको बरु बढाउन बाध्य भएकाले नै आज कम्युनिष्ट सरकार हिमाल पहाड तराईमा हाई हाई हुँदै बालबालिका , युवा र वृद्धाहरुको मन मनमा बस्न सफल भएकोे राईले बताए ।

अधिकारी नेपालको इतिहासमै पारदर्शी र राजनीतिक नैतिकताको अगुवा नेताका रुपमा चिनिन्छन् ।अधिकारी नेतृत्वको सरकारविरुद्ध तत्कालीन नेपाली कांग्रेस, राप्रपा र सद्भावना पार्टीले अविश्वास प्रस्ताव ल्याएपछि उनले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका थिए ।

कार्यक्रम नेकपा एमाले कमिटी वडा नं १५ का अध्यक्ष भीम बहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेकपा एमालेका केन्द्रीय सदस्य मुरारी सुवेदी, मोतिराज सुनुवार, बिजय कुमार राई, पूर्व सांसद कुन्ता शर्मा, धरानकी उप-प्रमुख मञ्जु भण्डारी सुवेदी लगायतको उपस्थित रहेको थियो ।

salika

धरान–१५ स्थित श्यामचोकमा रहेको पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक