धरान : काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ ।

आज बिहान काठमाडौँ, ललितपुर र भक्तपुरका प्रशासनबिच भएको छलफलपछि आगामी वैशाख १६ गते मध्यरातदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने तयारी गरिएको जानकारी दिइएको छ ।

उपत्यकामा अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिने, निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ । त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा पनि रोक लगाइने छ ।

सरकारले अत्यावश्यक भनी तोकेका क्षेत्रका कर्मचारीलाई भने पास र सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने पनि भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसललाई भने सहज होस् भनेर समय तोकिने पनि जनाइएको छ । निषेधाज्ञा हवाई सेवा भने सुचारु हुने बताइएको छ ।