धरान : कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाको सङ्ख्यामा वृद्धि भएको छ ।

४ वर्ष अघिको तुलनामा आरक्षमा १२ दशमलव ९ प्रतिशतले अर्नाको सङ्ख्या बढेको छ । ५७ वटाको सङ्ख्यामा अर्ना बढेसँगै कोशी टप्पु भित्र अर्नाको कुल सङ्ख्या ४ सय ९८ पुगेको छ । २०७४ सालमा आरक्ष भित्र ४ सय ४१ वटाको सङ्ख्यामा अर्ना पाइएको थियो ।

Arna-5

आरक्ष स्थापनाताका २०३२ सालमा कोशी टप्पुमा ६३ वटाको सङ्ख्यामा अर्ना रहेका थिए । त्यसयता क्रमशः अर्नाको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

कोशी टप्पु विश्वमै दुर्लभ वाइल्ड वाटर बफेल्लो अर्ना जङ्गली भैँसीका लागि प्रख्यात छ । आरक्षको कार्यालयले दुर्लभ अर्नाको सङ्ख्यामा हुँदै गएको वृद्धिलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको जनाएको छ ।

Arna-4

कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयले वैशाख ६ देखि ११ गते सम्म लगाएर सम्पन्न गरेको गणना प्रतिवेदन सार्वजनिक गर्दै सङ्ख्यात्मक वृद्धि लगायतको विषयमा जानकारी दिएको हो ।

सार्वजनिक प्रतिवेदन अनुसार आरक्षमा बैश्क भाले अर्नाको सङ्ख्या २ सय २१ वटा रहेको छ । त्यसैगरी बैश्क पोथी अर्ना १ सय ६२ वटा र अर्ध बैश्क अर्ना ४८ वटाको सङ्ख्यामा रहेको छ ।

Arna-3

आरक्ष भित्र दुई वर्ष उमेर सम्मको अर्नाको बच्चा ३५ वटाको सङ्ख्यामा रहेको पाईएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षले अर्ना गणनाको क्रममा एक वर्ष सम्मको बच्चा ३२ वटा भेटिएको जनाएको छ ।

Arna-2

आरक्षको कार्यालयले वैशाखको ६ गतेबाट ११ गते सम्म अर्ना गणना गरेको थियो । आरक्षले आयोजना गरेको गणना प्रतिवेदन सार्वजनिक कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल सहित कोशी गाउँपालिका प्रमुख ऐयुब अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

Arna-1

कार्यालयले अर्नाको सङ्ख्यामा वृद्धि हुँदै गए पनि संरक्षणमा भने समस्या थपिँदै गएको जनाएको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक रामका अनुसार खुल्ला चरिचरण र छाडा चौपायाका कारण अर्नाको जिन सङ्कटमा परेको छ ।

                                                                                                         -तस्बिरहरु भैरब आङ्ला

Arna