झापा : वैशाख मसान्तसम्म झापाका सबै शिक्षण संस्था बन्द हुने भएका छन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र झापाको सोमबार बसेको बैठकले कोरोना सङ्क्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै भौतिक उपस्थितिमा हुने सबै शैक्षिक क्रियाकलाप बन्द गर्ने निर्णय गरेको हो ।
झापा जिल्लाका सबै विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र २०७८ वैशाख मसान्त सम्म भौतिक रूपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाई शैक्षिक गतिविधि सञ्चलन गर्ने र सोको अनुगमन सम्बन्धित स्थानीय तहका शिक्षा शाखा प्रमुख एवं शिक्षा विकास तथा समन्वय इकाइले अनुगमन गर्ने,’ निर्णयमा भनिएको छ ।
यसबाहेक बैठकले कोरोना संकमण फैलन नदिन र त्यसको न्यूनीकरणको लागि तोकिएको मापदण्डहरू पालना गरे नगरेको सम्बन्धमा अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समितिसमेत गठन गरेको छ ।
काँकडभिट्टा नाकाबाट प्रवेश गर्ने यात्रुहरूको लागि मेचीनगरमा १ हजार जना क्षमताको होल्डिङ सेन्टरको स्तरोन्नति र कलवलगुडीस्थित प्रदेश प्रशिक्षण केन्द्रमा थप ५०० क्षमताको होल्डिङ सेन्टर निर्माण गर्न आवश्यक श्रोत साधनको व्यवस्थापनको लागि प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
बैठकले सार्वजनिक सेवा प्रवाहमा भिडभाड हुने कार्यालयहरूमा आलो/पालो मिलाएर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सेवा प्रदान गर्न पनि निर्देशन दिएको छ ।
जिल्लाका सबै क्रियाशील राजनीतिक दलहरूलाई आमसभा लगायतका भिडभाडयुक्त कार्यक्रमहरू नगर्न अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।