धरान : प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरी, सुनसरीले 'तपाईँको मास्क खोइ ?' भन्ने सचेतनामूलक कार्यक्रमको अभियान प्रदेश एक भरी चलाएको छ ।

हाल विश्वको कतिपय मुलुकहरूमा कोरोना भाइरसको दोस्रो लहर सुरु भइसकेको र नेपालमा समेत यसको प्रभाव पर्न गइ सङ्क्रमितहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको हुँदा कोरोना भाइरसको न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश ट्राफिक प्रहरीले प्रदेश नं १ का १४ वटा जिल्लामा 'तपाईँको मास्क खोइ ?' भन्ने सचेतनामूलक कार्यक्रमको अभियान चलाएको हो ।

प्रदेश नं १ मा अस्थायी ७३ र स्थायी १९ वटा गरी ९२ वटा युनिटमा सञ्चालन रहेका छन् । जसमा कार्यरत रहेका ४ सय १० जना ट्राफिक प्रहरीले आज बिहान १० बजे एकै समयमा सडकमा मास्क नलगाएका पैदल यात्री र सवारी साधन चालकहरूलाई कोरोना भाइरसको सङ्क्रमण बाट बच्न अनिवार्य रूपमा मास्कको प्रयोग गरौँ भन्ने जानकारीका साथ मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

विभिन्न सामाजिक सङ्घ संस्थाहरूबाट उपलब्ध भएका १६ हजार ९ सय ५५ थान मास्क सडकमा मास्क बिना पैदल यात्रा गर्ने यात्री र चालकहरूलाई वितरण गरिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सुमन कुमार तिम्सिनाले जानकारी दिए ।