विराटनगर : प्रदेश १ सरकारले आजदेखि प्रदेशभर कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक अभियानको सुरुवात गरेको छ ।

विराटनगर बसपार्कबाट अभियानको सुरुवात गरिएको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि स्वास्थ्य मापदण्ड पालना नभएपछि मन्त्रालयले साङ्केतिक रूपमा अभियानको सुरुवात गरेको जनाएको छ ।

सामाजिक विकास मन्त्रालयको अगुवाइमा, स्काउट लगायतका सामाजिक सङ्घ संस्थाको सहकार्यमा अभियानको सुरुवात गरिएको हो । अभियान शुभारम्भ गर्दै सामाजिक विकास मन्त्री उषाकला राईले कोरोनाबाट बच्नका लागि स्वास्थ्य मापदण्ड, सामाजिक दुरी कायम गर्न आवश्यक रहेकोमा जोड दिए ।

उनले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरे । सबैको सहयोगले मात्र कोरोना नियन्त्रण सम्भव रहेको उनले बताए । मन्त्री राईले सामाजिक चेतनाका लागि कोरोना नियन्त्रणको अभियान थालिएको बताए । अभियानको सुरुवात गर्दै मन्त्री राईले विना मास्क हिड्नेहरुलाई मास्क लगाइदिएकी थिइन ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, इन्सेकका प्रदेश १ प्रमुख सोमराज थापा, स्काउट प्रदेश १ का संयोजक रवि खनाल, स्वास्थ्यकर्मी, ट्राफिक प्रहरी, स्काउटर लगायतको सहभागिता रहेको थियो ।

सामाजिक विकास मन्त्रालयले मोरङ बाहेकका जिल्लाहरूमा पनि साङ्केतिक रूपमा अभियान सञ्चालन गरिने जनाएको छ ।

जनचेतना मूलक अभियान शुरुगर्नु पूर्व सामाजिक विकास मन्त्री राईले आज सामाजिक विकास मन्त्रालयमा सरोकारवालासँग छलफल गरेका थिए ।