विराटनगर : प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले अघि सारेको नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवर्द्धन का लागि ‘ब्यान्ड भर्सेस ब्रान्ड’ अवधारणालाई आदिवासी जनजाति सँग आबद्ध सङ्घ संस्थाहरूले स्वागत गरेका छन् ।

उनीहरूले आदिवासी जनजातिको परम्परा, संस्कृति एवं पहिचानको व्यवसायीकरण गर्ने योजनाका रूपमा ‘ब्यान्ड भर्सेस ब्रान्ड’ अवधारणालाई लिएको बताएका छन् ।

मन्त्री राईलाई आज ज्ञापन पत्र बुझाउँदै उनीहरूले आदिवासी जनजाति महिलाहरूको ज्ञान, सीप प्रविधि तथा रोजगारीसँग जोडिनका साथै आदिवासी जनजातिहरूको जन्म देखि मृत्यु पर्यन्त सम्म पनि प्रयोग हुने धर्म संस्कार संस्कृतिसँग नेपाली घरेलु मदिरा जोडिएको बताएका छन् ।

ज्ञापन पत्र बुझाउँदै राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च प्रदेश १ का अध्यक्ष माया राईले नेपाली मौलिक सीप र कौशल प्रयोग गर्दै उत्पादित नेपाली घरेलु मदिराको बजारीकरण गरिएको खण्डमा कृषि उत्पादनमा वृद्धि, स्वरोजगारी सृजना, गरिबी न्यूनीकरण, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्दा अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने बताइन् । उनले ‘ब्यान्ड भर्सेस ब्रान्ड’ अवधारणाको उच्च मूल्याङ्कन गरिन् ।

सामाजिक विकास मन्त्री राईलाई राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, राष्ट्रिय जनजाति महिला महासङ्घ समन्वय परिषद् सुनसरी, राष्ट्रिय जनजाति महिला महासङ्घ समन्वय परिषद् इटहरी, किराँत राई सुम्निमा सङ्घ इटहरी र किरात राई सुम्निमा सङ्घ प्रारम्भिक कार्यसमितिले संयुक्त रूपमा ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै मन्त्री राईले आफूले अघि सारेको काममा साथ दिन सबैलाई आग्रह गरिन् । ‘ब्यान्ड भर्सेस ब्रान्ड’ अवधारणा सफल भएरै छाड्ने मन्त्री राईले बताइन् ।

प्रदेश १ सरकारले नेपाली घरेलु मदिरा (कोदोको रक्सी) ब्राण्डिङ्ग, बजारीकरण तथा प्रवर्द्धनको विषयमा सम्भाव्यता अध्ययनका लागि प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सामको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

४५ दिनको समयावधि दिएर सामाजिक विकास मन्त्रालयले कार्यदल गठन गरेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए । उनले राष्ट्रिय जनजाति आबद्ध सङ्घ संस्थाका प्रतिनिधिहरूलाई कार्यदललाई आवश्यक सुझाव दिएर सहयोग गर्न आग्रह गरे ।

राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च प्रदेश १ अध्यक्ष माया राईले प्रदेश १ मा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई पनि ज्ञापन पत्र बुझाउने बताइन् ।