धरान : धरान १४ को विजयपुरको डाडागाउँ मण्डप चौक आसपासका क्षेत्रमा मोबाइल फोनमा नेटवर्क नटिप्ने समस्याको सावधान छिटै हुने भएको छ ।

विजयपुरको मण्डप चौकमा गणेश भण्डारीको जग्गामा ३५ मिटर अग्लो नेपाल टेलिकमको टावर राखे पछि उक्त क्षेत्रमा मोबाइल सेवा विस्तारसंगैको टेलिकमको सिग्नलमा देखा परेको समस्याको सावधान हुने भएको हो ।

नेपाल टेलिकम धरान शाखाका प्रमुख विनोद यादवका अनुसार ५ किलोमिटरको सर्कलमा राखिएको उक्त टावरको फोर जी सेवा आउने वैशाख २० गतेबाट डाडागाउँ चौक, दन्तकाली मन्दिर, पिण्डेश्वर, बुढासुब्बा मन्दिर आसपासका क्षेत्रमा चल्ने छ ।

गत १० गते सञ्चालनमा आउने भनिएको टावर काठमाण्डौँबाट फोर जी सेवाका समान आउन ढिलो भएकाले २० गते सम्ममा सञ्चालनमा ल्याउने टेलिकम धरान शाखाले जनाएको छ ।

धेरै वर्ष देखि विजयपुरमा मोबाइलमा नेटवर्क नटिप्नाले विजयपुरबासी मोबाइलमा कुरा गर्नका लागि घर बाहिर निस्किनुपर्ने र टावर कता टिप्छ भनेर सिग्नल खोज्नुपर्ने बाध्यता रहेको थियो । अझ कहिले काहीँ विद्युत अवरुद्ध हुँदा त मोबाइलमा टावरको सिग्नलनै पनि हराउने गर्दथ्यो ।

धरान-१४ मण्डप चौक निवासी पूर्व प्रमुख जिल्ला अधिकारी कृष्ण कोइराला भन्छन् कुनै जरुरी काम परेर घर भित्रबाट मोबाइलमा कुरा गर्न खोजे घर भित्रबाट सहजै कुरा गर्न सकिँदैन ।

टावर टिप्ने ठाउँ उच्च ठाउँ खोज्दै हिँड्नुपर्ने भएकोले नेपाल टेलिकमको सेवामा भरपर्दा दुःख पाउने गरेको बताउँदै कोइरालाले भने अब हामी जडान गरिएको टावर सञ्चालनको प्रतिक्षमा छौ । तर, आधुनिकताको युगमा विजयपुर जस्तो ठाउँमा भर्खर मात्र टावर जडान भएकोमा चैँ दुखी नै छौ ।

टावरको प्रतीक्षामा रहेका विजयपुरबासी टेलिकमका प्रयोगकर्ता प्रा. डा. राजेन्द्र शर्मा भन्छन् धरानको चर्चित ठाउँ विजयपुरमा मोबाइल सेवा अवरुद्ध हुन्छ भन्दा अचम्म लाग्छ । तर, यर्थाथ हो । हामी टेलिकमले टावर राख्दा खुसी भएका छौ । टेलिकमको लेनलाइनमा सेवामा सेवाग्राही सन्तोषजनक छौ ।

उनले फेरी भने मोबाइलको सिग्नल नआउने एरियामा तत्काल नेपाल टेलिकमले टावर राखी सेवा बिस्तार र वाइफाईको सन्तोषजनक सेवा पाउने भएकाले हामी टेलिकमप्रति आभारी छौ ।