विराटनगर : कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै विराटनगरका निजी र सरकारी अस्पतालको आइसोलेसनमा बिरामी बढेका छन् ।

सङ्क्रमण रोकथाम गर्ने जिम्मेवारी पाएको प्रदेश १ सामाजिक विकास मन्त्रालय भने अलमलिएको छ । गत चैत १३ गते नयाँ मन्त्री पाएको सामाजिक विकास मन्त्रालय पूर्व तयारीमा अलमलिएको हो ।

मन्त्रालय अलमलिदा कोरोना सङ्क्रमितको उपचारमा खटिएका फ्रन्टलाइनर आन्दोलनमा उत्रिएका छन् । जोखिम भत्ता, क्वारेनटाइन र खानाको माग गर्दै चिकित्सक आन्दोलित बनेका हुन् । सोमबार काम छाडेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी आइतबारसम्म माग सम्बोधन गर्न अल्टिमेटम दिएर काममा फर्किएका छन् ।

कोरोना महामारीको पहिलो लहर सुरु हुँदा सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा जीवन घिमिरे थिए । उनी आफै फिल्डमा खटिएर काम गरे । उपचारमा खटिने चिकित्सकका लागि होटलमा क्वारेनटाइन राखे । तर १३ चैतमा मन्त्री नियुक्त भएकी उषाकला राईले काम गर्न अलमलिएको मन्त्रालयका एक अधिकृतले बताए ।

मन्त्रालयले स्वास्थ्यकर्मीका लागि अस्पतालसँगै रहेको पुरानो बिल्डिङ क्वारेनटाइन बनाइदिएको छ । सरकारले तोकिदिएको क्वारेनटाइनमा बस्नसक्ने अवस्था नरहेको चिकित्सकले बताए । ‘घरजादा जोखिम हुन्छ, यहाँ बस्न सक्ने क्वारेनटाइन छैन,’ डाक्टर डिकेन्द्र महतोले भने,‘खाना पनि डाइट मिल्ने छैन ।’

महामारीमा प्रोत्साहन गर्नुपर्ने स्वास्थ्यकर्मीलाई सरकार निरुत्साहित गर्न लागिपरेको नेपाल चिकित्सक सङ्घ कोसीका अध्यक्ष डाक्टर फरवार्ड सिलवाल बताउँछन् ।

‘प्रदेश मात्र होइन केन्द्र सरकार पनि कोरोना सङ्क्रमण रोकथाम गर्न अलमलिएको छ,’ डाक्टर सिलवालले भने,‘ प्रदेश सरकार स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको साटो जोखिममा खटिएकाहरूलाई दिएको सुविधा कटौती गर्न लाग्छ ।’

महामारी तीव्र रूपमा फैलिएकाले पूर्व तयारीमा सरकारले अल्छी गरेको उनको गुनासो छ । ‘निजी अस्पतालहरूलाई तुरुन्त बेड तयार गर्न निर्देशन दिनुपर्ने हो,’ उनले भने,‘अत्यावश्यक सामाग्री र जनशक्तिको व्यवस्थापन गर्न ढिलो भइसक्यो ।’ सङ्क्रमणको चेन ब्रेक गर्नका लागि लकडाउन आवश्यक रहेको उनको भनाई छ ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै विराटनगरका निजी अस्पतालहरूले सङ्क्रमितको उपचारका लागि छुट्टै कोरोना उपचार केन्द्र सुरु गरेका छन् । विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजले छुट्टै कोरोना उपचार केन्द्र सुरु गरेका हुन् । न्युरो अस्पतालले एक साता भित्र उपचार केन्द्र सञ्चालनको तयारी गरेको छ ।

नोबेल मेडिकल कलेजले १५० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । विराट मेडिकल कलेजले एक सय बेडको आइसोलेसन सञ्चालनमा ल्याएको हो ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार गम्भीर प्रकृतिका बिरामीलाई राख्नका लागि १० बेडको आइसियु पनि सुरु गरिएको छ । आइतबारबाट नोबेलले उपचार केन्द्र सुरु गरेको हो । पहिलो दिन नै ७ जना बिरामी भर्ना भएको उनले बताए ।

विराट मेडिकल कलेजले पनि वैशाख १० गतेबाट सङ्क्रमितका लागि छुट्टै उपचार केन्द्र सुरु गरेको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । उनका अनुसार तीन दिनमा नै २२ जना सङ्क्रमित भर्ना भएका छन् ।

कोरोना महामारीको पहिलो फेजमा छुट्टै अस्पताल सञ्चालन गरेको न्युरो अस्पताल विराटनगरले पनि छुट्टै आइसोलेसन केन्द्र सञ्चालनको तयारी गरेको छ । अस्पताल डाइरेक्टर इन्जिनियर रञ्जितराज बस्नेका अनुसार केही दिन भित्र ५० बेडको कोभिड १९ उपचार केन्द्र सुरु हुनेछ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की कोरोना सङ्क्रमण नियन्त्रण र रोकथामका लागि प्रदेश सरकारले काम गरिरहेको बताउँछन् ।

प्रदेश १ मा भारतसँग सीमा जोडिएका पाँच वटा नाका आवत जावतका लागि राखिएको बताउँदै उनले नाकामा होल्डिङ सेन्टर बनाउने तयारी भइरहेको बताए । निजी अस्पतालहरुमा पनि प्रदेश सरकारले समन्वय गरेर उपचार केन्द्र सञ्चालनमा आएको बताउँदै उनले भने ‘ आइसोलेसन पनि सञ्चालन गर्ने तयारी छ । तर कहाँ गर्ने भन्ने निर्णय भएको छैन ।’

स्वास्थ्यकर्मीले सङ्कटको बेला विभिन्न माग राखेर घुर्क्याउन खोजेको उनको दाबी छ । कोसी कोभिड भन्दा ठुला अस्पतालमा स्वास्थ्यकर्मीले विरोध नगरी काम गरेको बताउँदै उनले स्वास्थ्यकर्मीले अनावश्यक रूपमा विरोध गरेको बताए ।

गत वर्ष महामारी सुरु हुँदै गर्दा प्रदेश सरकार स्थानीय तहले होल्डिङ सेन्टर र आइसोलेसन सेन्टरसँगै सतर्कता अभियान सञ्चालन गरेका थिए । तर दोस्रो लहरले प्रभावित हुँदा पनि पूर्व तयारी छैन ।

सोमबार बसेको प्रदेश स्तरीय सिसिएमसी बैठकले नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय भएको सचिव कार्कीले बताए ।