इटहरी : इटहरी उपमहानगरपालिकामा ५० शय्याको आइसोलेसन सञ्चालन गरिने भएको छ ।

इटहरी उपमहानगर कार्यपालिकाको आकस्मिक बैठकले इटहरी रङ्गशालामा ५० शय्याको आइसोलेसन सञ्चालन गर्ने निर्णय गरेको हो। आइसोलेसन सञ्चालनका लागि तयारी सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले जानकारी दिए ।

शव व्यवस्थापनका लागि गाढने संस्कार भएकाहरूका लागि इटहरी २ स्थित जङ्गलमा र जलाउने संस्कार भएकाहरूका लागि इटहरी-११ स्थित बुढीखोला भागलपूर पुल उत्तर पट्टी स्थान तोकिएको छ। २५ जना सम्म मात्र सहभागी भएर स्वास्थ्यका सबै मापदण्डहरू पूरा गरी अन्तिम संस्कार गर्नुपर्ने छ ।

यसैबिच इटहरी उपमहानगर राजश्व प्रशासन शाखामा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले पाँच दिनका लागि सो शाखाबाट हुने सबै सेवा बन्द गरिएको छ ।

शाखा प्रमुख नवीन भट्टराईका अनुसार वैशाख १५ गते देखि पाँच दिन सम्म कोठा नम्बर ९ राजश्व प्रशासन शाखाबाट हुने कर लगायतका सबै सेवा बन्द गरिएको हो । वडा कार्यालयहरू वाट हुने कर सङ्कलन कार्य भने नियमित हुने छन् ।