धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोभिड-१९ को सङ्क्रमण बढ्दै गएको कारण अत्यावश्यक काम नपरी अस्पताल नआउन अपिल गरेको छ ।

यसलाई कोरोना महामारीको बाध्यात्मक अवस्थाले पुर्‍याएको असहजता बुझिदिन प्रतिष्ठानले सेवाग्राहीहरूलाई आग्रह गरेको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशङ्कर साहले आज सार्वजनिक अपिल जारी गर्दै महामारीको दोस्रो लहरको प्रकोप कम नहुँदासम्म सबैले कोभिड १९ को रोकथामका लागि स्वास्थ्य मापदण्डका उपायहरू र स्वास्थ्य सुरक्षा अवलम्बन गर्न र अत्यावश्यक काम नपरी अस्पताल नआउन अपिल गरेका हुन् ।

बीपीमा टाढा टाढाबाट स्वास्थ्य सेवा लिन आउनेहरु सूचना नपाएर अनावश्यक दुःख पाउने भएकाले सूचना जारी गरी सूचित गरेको प्रतिष्ठानले जनाएको छ ।

कोभिड महामारीको दोस्रो लहर विश्वव्यापी भएसँग प्रतिष्ठानमा दैनिक रूपमा कोभिड १९ का बिरामीहरू आउने तथा भर्ना हुने दर बढ्दै गइरहेका र जटिल बिरामीहरूलाई उपचार गराउन डाक्टर नर्सहरूलाई खटाउनु पर्ने भएकाले नियमित प्रदान गरिने सेवामा असहज भएको प्रतिष्ठानले जनाएको छ ।

कोभिडको दोस्रो लहरको असर बढ्दै गएपछि अस्पतालमा कोभिड १९ उपचार सेवा थप विस्तार गर्नुपरेमा आकस्मिक बाहेकका अन्य सेवाहरू स्थगन गर्नुपर्ने अवस्था आउन सक्ने पनि सूचित गरेको छ ।

BP-Apil