धरान : धरान-१४ विजयपुरको पिण्डेश्वर मन्दिर जाने बाटो बाबाधाम मार्गबाट नगर प्रहरीले अनाधिकृत रुपमा सडक अतिक्रमण गरेर घर निर्माण गरिरहेको पाइएपछि निर्माण सामाग्री नियन्त्रणमा लिएको छ।

धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिर देखि धरान ३ तुर्के सम्म अनाधिकिृतरुपमा सडकको दायाँबायाँ सडकको मापदण्ड मिचेर घर बनाइँदै गरिएको र भिरालो जमिनमा खारेर घर बनाउने तयारी गरिएको अवस्थामा आज बिहान नगर प्रहरी विष्णु कोइरालाको टोलिले गैँती, बेल्चा, झ्याम्पल लगायतको सामाग्री नियन्त्रणमा लिएको हो ।

नगर प्रहरी प्रमुख कोइरालाका अनुसार पिन्डेश्वर मन्दिर देखि पश्चिम इनार देखि ५० मिटरको दुरीमा सडकको भित्तापट्टिको भिरालो जग्गा खारेर घर बनाउन तयारी गरिरहेको डोलेश्वर कार्की र सडकको भित्तामा जोखिमपूर्ण तरिकाले सिमेन्टको बोरामा माटो भरेर अर्काको नम्बरी जग्गामा घर बनाउँदै गरेका भीमबहादुर थापाको निर्माणमा प्रयोग हुने सामाग्री नियन्त्रणमा लिएर अहिले १० बजे पछि नगरपालिकामा छलफलका लागि बोलाइएको छ ।

अर्काको नम्बरी जग्गा अतिक्रमण गरेर घर निर्माण गर्दै गरेका भीमबहादुर थापालाई यस भन्दा अघि पनि भिरमा जोखिमयुक्त तरिकाले घर निर्माण गरेकोमा नगरप्रहरीले पुगेर पटक पटक सम्झाउँदा पनि अटेर गरी घर निर्माण नरोकेको बताइएको छ । आज नगर प्रहरी पुग्दा उनले दुई वटा हरियो रुख आँप डेढ फिट गोलाई र सिरिसको रुख २ फिट गोलाई भएको काटेको समेत पाईएको छ । उनलाई रुख काटेको विरुद्ध पनि कारबाही गरिने प्रमुख कोइरालाले बताए ।

पछिल्लो समय धरान १४ विजयपुरको पिण्डेश्वर मन्दिर उक्लिने सडक धरान ३ को गौधारा देखि पिण्डेश्वर सम्म व्यापक अतिक्रमण भएर घर टहरा निर्माण भएको पाईएको छ । यसमा सम्बन्धित निकायको चासो नपुगेको देखिएको छ । अझ घर टहरा निर्माण गर्नेहरूले नगर प्रहरीलाई सम्बन्धित वडाका जनप्रतिनिधिहरूलाई भनेर निर्माण गरेको समेत बताएका छन् ।

विजयपुरको सडकको मापदण्ड रेडक्रस देखि विजयपुर चौक सम्मकोलाई हेर्ने हो भने ३० फिटको कायम गर्ने हो भने बाबा धाम मार्गमा सडक अत्यन्तै साँगुरिएको छ । यसबारेमा धरान उपमहानगरपालिकाले बेलैमा त्यहाँको सडकको मापदण्ड अनुसार स्थानियबासीलाई घर र भौतिक संरचना निर्माण गर्न लगाउन जरुरी भएको छ । यदि यस्तै अवस्था रहिरहेमा भोलि पिण्डेश्वर जाने बाबा धाम मार्ग गोरेटो मात्रै रहन सक्ने देखिन्छ ।

Babadham-3